२१ बैशाख २०८१, शुक्रबार

प्रदेश सरकार करारमा कर्मचारी भर्ना गर्दै



  • खप्तडमा जंगल सफारी पथको डिपिआर बनाउन १५ बजेट व्यवस्थापन
  • सबै अस्पतालमा अक्सिजन पलान्ट जडान गर्न स्वीकृति प्रदान

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बजेट खर्च र विकास निर्माणको काम बढाउने उद्देश्यका साथ प्रदेशमा करारमा कर्मचारी नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारको मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले भौतिक पुर्वाधार विकास मन्त्रालयमा ४३ जना र प्रादेशिक आयुर्वेदिक चिकित्सालयमा ३२ जना कर्मचारी करारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कर्मचारी अभावका पुँजिगत बजेट खर्च हुन नसकिरहेको अवस्थामा कर्मचारी नियुक्त गरी विकास निर्माणको काम तिब्र बनाउन करारमा भएपनि कर्मचार भर्ना गर्ने निर्णय गरेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बताए । उनले मन्त्रालयमा रिक्त रहेको कर्मचारीको दरबन्दीमा प्रदेश सरकारले आफैले करार भर्ना लिने गर्ने निर्णय भएको जनाए ।

प्रदेश मन्त्रीपरिषद्ले वैद्यनाथ धाम विकास समितिका गठनादेश संशोधन गर्ने निर्णय पनि रहेको छ । डोटीबाट खप्तड राष्ट्रिय निकुञ्ज जाँदा बाटोमा पर्ने पर्ने झिग्रानादेखि बिचपानीसम्मको १५ किलोमिटर सडकमा जंगल सफारी पथ निर्माण गर्ने भएको मन्त्री बोहराले बताए । उनले त्यसका लागि विस्तृत परियोजना प्रतिवेदन डिपिआर र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) तयार गर्न पुर्वाधार विकास मन्त्रालयलाई १५ लाख बजेट दिने निर्णय भएको जनाए ।

प्रदेश मन्त्रीपरिषद्ले कोभिड १९ रोगको नियन्त्रण रोकथाम र उपचारको प्रदेशका सबै जिल्ला अस्पतालहरुमा अक्सिजन पलान्ट जडान गर्न सामाजिक विकास मन्त्रालयलाई स्वीकृति प्रदान गरेको छ । त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने निर्णय भएको मन्त्री बोहराले बताए ।
कैलालीको टीकापुर अस्पताल र प्रदेशका सबै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने समाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जनाए । उनले बैठकले सेती प्रादेशिक अस्पतालमा थप ५० शैय्याको अस्पताल भवन र सर्जिकल सामाग्री खरिदका लागि बजेट व्यवस्थापन गर्ने निर्णय भएको बताए ।

सामाजिक मन्त्रालयकै ‘प्रदेश खेलकूद परिषद् गठन सम्बन्धमा बनेको नियमावली–२०७७’ समेत मन्त्रीपरिषद्ले स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार