१३ बैशाख २०८१, बिहीबार

छोरीमाथि अझैं पनि विभेद



टीकापुर । कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ एकतानगरकी पुष्पा सन्यासी कक्षा ६ मा पढ्छिन् । कर्णाली मावि टीकापुरमा अध्ययनरत उनी विद्यालयबाट फर्केपछि घरसफा गर्ने, भाडाकुँडा माझ्ने र कपडा धुने लगायतका घरयासी काममा आमालाई सघाउँछिन् ।

‘म घरमा आमालाई सबै काम सघाउँछु, मेरा दाजुभाइले मैलेजस्तो घरको काम गर्दैनन’ पुष्पाले भनिन्– आमाको धेरै काम हुन्छ । घरको काम सकेर राति आफनो गृहकार्य गर्छु । कहिलेकाहीं गर्न भ्याउँदिन ।

कक्षा ६ मा अध्ययनरत छात्रा सम्झना विक पनि विद्यालयपछिको समयमा घरको काममा खट्नुपर्छ । उनी आमासंगै घाँसदाउराको काममा समेत जान्छिन्् । उनीको दाजुभाइले पनि घरको काम गर्नुपर्दैन । ‘म आमासंगै सबै काम गर्छु । खाना पकाउन, घर सफा गर्न, घाँस काट्न सबै काम सिकिसकें’ सम्झनाले भनिन– छोरीले काम सिक्नुपर्छ नत्र पछि दुःख पाइन्छ भन्छन्, घरको काम गर्दा घरमा त्यति पढ्न पाइँदैन ।

कक्षा ८ मा अध्ययनरत छात्रा सुधा धामीका दुई दाजुभाई छन्् । उनका दाजुभाइले घरको काम पटक्कै छुनु पर्दैन । उनीहरू विद्यालयबाट फर्केपछि कि गृहकार्य गर्छन्, नभए नजिकै रहेको खेल मैदानमा खेल्न जान्छन् । उनी विद्यालयबाट फर्कदा घरमा काम थुप्रिसकेको हुन्छ ।

‘म विद्यालयबाट फर्कन्छु, खाजा खाएर घाँस काट्न जान्छु, अनि साँझ खाना पकाउने जिम्मा मेरो हुन्छ’, सम्झनाले भनिन्– आमाले गाईभैंसी स्याहार गर्छन । दाजुभाइलाई काम गर पनि भन्छन् । म अधिकांश दिन गृहकार्य नगरेरै विद्यालय जान्छु । कहिलेकाहीं त जानै मन लाग्दैन ।’

समाजमा अहिले पनि छोरी विवाहपछि अर्काको घर जाने भएकाले उनीको कमाइ अरुले खान्छ भन्ने गलत बुझाइले शिक्षामा विभेद गरिन्छ । कानूनले शिक्षामा समान हकको व्यवस्था गरे पनि अभिभावकले नबुझीदिंदा छोरा र छोरीलाई दिइने शिक्षामा विभेद रहेको छ । छोरीहरूलाई घरको काममा छोराभन्दा बढी लगाइँदा उनीहरूको पढाइमा समेत असर परेको छ ।

अभिभावक लीलावती चौधरी तुलनात्मकरुपमा घरको काममा छोराभन्दा छोरी बढी व्यस्त देखिने बताए । ‘छोरी पराइ घर जाने हो भन्दै छोरीले सबै कुरा माईतीमै सिक्नुपर्छ, अन्यथा दुःख पाइन्छ भन्ने सोचाइ हाम्रो समाजमा अझै छ’, उनले भने– यसले छोरीको पढाइमा बाधा पुर्‍याएको हुन्छ ।’
छोराले लालनपालन गर्ने विश्वास गरिन्छ । यसैले अलि महँगो निजी विद्यालयमा र छोरीलाई अर्काको घर जाने हो भन्दै कम खर्च हुने सामुदायिक विद्यालयमा पढाउने अभिभावक गाउ“घरमा अझै छन् । अभिभावक प्रमिला चौधरी छोरा पढाएमा लालनपालन गर्ने भएकाले छोरामा गरिएको लगानी खेर नजाने बताए ।

टीकापुर नगरपालिकामा शैक्षिकसत्र २०७६ मा द्यिार्थीको संख्या २६ हजार ७९१ छ । ती मध्ये छात्रको संख्या १४ हजार ४७५ रहेको छ भने छात्राको संख्या १२ हजार ३१६ रहेको छ ।
सामुदायिक विद्यालयमा छात्र चार हजार ५८७ छ भने छात्राको संख्या छ हजार ७०० छ ।
संस्थागत विद्यालयमा भने छात्रको संख्या धेरै छ । छात्रा छ हजार ३०९ र छात्रको संख्या नौ हजार ८८८ छ । सामुदायिकमा छात्रा संख्या ५९ प्रतिशत छ भने संस्थागतमा ३८ प्रतिशत मात्र छ । यसले पनि सामुदायिकमा छात्राको संख्या धेरै र निजीमा कम रहेको देखिन्छ ।

सामुदायिकमा छात्रको तुलनामा छात्राले विद्यालय छोड्नेदर दुई प्रतिशतले बढी रहेको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । ‘विद्यालय छोड्ने दर हेर्दा छात्रभन्दा दुई प्रतिशत बढी छात्राले विद्यालय छोडेको देखिन्छ’, शिक्षा अधिकृत नरेश अवस्थीले भने, ‘हामीले घरकै कामले छोड्छन्् भन्न सक्दैनौ“, माथिल्ला कक्षामा गएर विद्यालय छोड्ने छात्रा बढी छन्् । घरको कामको बोझ पनि एउटा कारण हो ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार