६ चैत्र २०८०, मंगलवार

लम्की–टीकापुर–खक्रौला सडक स्तरोन्नती हुँदै



लम्की/ कैलालीको लम्की–टीकापुर–खक्रौला सडकको स्तरान्नती हुने भएको छ । शनिबार एक कार्यक्रमबीच संघीय सरकारका उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त कुमार नेम्वाङ्गले सडक स्तरोन्नतीको शुभारम्भ गरे ।

सडकको शिलान्यास गर्दै मन्त्री भट्टले परिवर्तनका लागि दृष्टिकोण व्यवहार र चिन्तन बदल्नु पर्ने बताए । जनताले दिएको जिम्मेवारी पूरा गर्ने गरी सरकारले काम गरि रहेको भन्दै उनले सुदूरपश्चिमको विकासमा सबै एक भएर लाग्नु पर्नेमा जोड दिए ।

इतिहासमा टेकेर वर्तमानको समीक्षा गरेर अगाडि बढ्न सकिने मन्त्री भट्टले बताए । विकास व्यक्तिको निम्ति होइन, देश र जनताको निम्ती गर्नुपर्ने उनले बताए । मिहिनेत गरेर काम गरेपछि चीन र भारतलाई उछिन्न सकिने उनको दावी थियो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङ्गले जनताले लामो समयदेखि प्रतिक्षा गरेको सडकको स्तरोन्तीको कामको सुरुवात गरेका बताए । सडक निमार्णको जिम्म्मेवारी पाएकाहरुले इमान्दारीपूर्वक काम गर्न नेम्वाङ्गले निर्देशन दिए ।

महामारीको बेलामा पनि सरकारले जनताको आँखाले देख्ने गरेर सुखि र खुसी जनता बनाउने गरी काम गरिरहेको मन्त्री नेम्वाङ्गको दावी थियो ।

कार्यक्रममा सोही क्षेत्र कैलाली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य झपटबहादुर रावलले सडक बन्दैन भनेर कुरा काट्नेका लागि शिलन्यास हुनु आफै जवाफ भएको बताए । उनले भने कुरा भन्दा काम गर्न आफूहरु लागेको बताए ।

निर्वाचित जनप्रतिनिधि पहिले पनि थिए सरकार पहिले पनि थिए तर सडक बनेन । अहिले हामीहरु लागेपछि सडक बन्ने अवस्था आयो उनको दावी थियो ।

अर्का प्रतिनीधि सभा सदस्य नारदमुनी रानाले वर्तमान सरकार आएपछि कैलालीमा धेरै विकास निर्माणका काम हुन थालेको दावी गरे । सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता रणबहादुर रावलले सो सडकको इतिहास बताएका थिए । भने अर्का प्रदेश सभा सदस्य रतनबहादुर थापाले विगतमा सडक निर्माणका सामानको सुरक्षा नहुने अवस्था थिएन त्यसैले सडक निर्माण ढिलो भएको चर्चा गरेका थिए ।

लम्कीचुहा नगरपालिका प्रमुख महादेव बजगाईले लम्की–टीकापुर–खक्रौला सडक गुणस्तरीय र छिटो छरितो निर्माण होस भन्ने जनभावना बुझेर काम गर्नु पर्ने सुझाए ।

हुलाकी सडक निर्देशनालय प्रमुख रोहित विश्रालले हुलाकी राजमार्ग अन्तर्गतको लम्की–टीकापुर–खक्रौला सडकको लम्बाई २९ दशमलव सात .किलोमिटर रहेको बताए । उनले सडकलाई तीन खण्डमा विभाजन गरेर नेपाल सरकारको सहयोगमा सडक स्तरोन्नतीको काम हुने बताए ।

एक अर्ब १४ करोड ३९ लाख रुपैयाँको लागतमा सडक निमार्णको काम भईरहेको उनले बताए । लम्कीदेखि आठ किलोमिटर पहिलो खण्ड, आठ किलोमिटरदेखि १८ किलोमिटर सम्म दोस्रो खण्ड र १८ किलोमिटरदेखि २९ दशमलब ७ किलोमिटरसम्म तेस्रो खण्ड बनाएर काम हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार