६ चैत्र २०८०, मंगलवार

विजुली नबलेपछि गाउँले आन्दोलित



दार्चुला । ग्रामीण विद्युतीकरणमा ढिलाई भएको भन्दै दार्चुलाकोे शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाका स्थानीयहरु आन्दोलनमा उत्रिएका छन् ।

नेपाल विद्युत प्राधिकरण र निर्माण व्यवसायीको लापरवाहीका कारण ग्रामीण विद्युतिकरणमा ढिलाई भएको आरोप लगाउँदै शैल्यशिखर नगरपालिका वडा नम्बर ६ पनेबाज र बजारमा शुक्रबार एक घन्टा चक्काजाम गरिएको थियो ।

हाम्रो माग पूरा गर, विद्युत जडानमा भेदभाव गर्न पाइदैन, मेरो प्रश्न नेतालाई– बिजुली कहिले जनतालाई ?, उज्यालो नेपाल भएन बिजुली बाल्न पाएन जस्ता नाराअंकित पम्पलेट बोकेर स्थानीय सडकमा उत्रिएका थिए ।

आन्दोलनमा सहभागीहरुले तीन वर्षअघि पोल गाडिएको ठाउँमा समेत अहिलेसम्म लाइन विस्तार नभएको, कतिपय पोल ढलिसकेकोले तत्काल विद्युतिकरण गर्नुपर्ने माग दोहोराए ।

दुवै पालिकाका स्थानीयले यसअघि तिहारसम्म् विजुली पुराउन नेपाल विद्युत प्राधिकरण, दार्चुला वितरण केन्द्रलाई चेतावनीसहितको निवेदन दिएका थिए । तर, उनीहरुका माग पुरा नभएकोले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उनीहरुले बताए ।

३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा भएर पनि ती क्षेत्रमा हालसम्म पनि विद्युत सेवा पुगको छैन । स्थानीयले तत्काल विद्युतिकरणको काम शुरु नभएर आगामी १५ गते चमेलिया जलबिद्युत आयोजनास्थलमै आन्दोलन गर्ने चेतावनी दिए ।

शैल्यशिखर नगरपालिकाको वडा नम्बर ६, ७ र ८ तथा मालिकार्जुन गाउँपालिकाको वडा नम्बर २, ३ र ८ मा तीन वर्षअघि विद्युत पोल गाडिए पनि लाइन बिस्तार भएको छैन ।

विद्युत प्राधिकरण वितरण केन्द्रका सुपरभाइजर कुलदिप सादाले शैल्यशिखर नगरपालिकाको विद्युतिकरण हुन बाकी क्षेत्रमा बिजुली पुराउन ठेक्कापट्टा भएर काम शुरु हुने चरणमा रहेको बताए । उनले शैल्यशिखर र बैतडीको डिलाशैनी गाउँपालिकामा विद्युतिकरण गर्न आवश्यक निर्माण सामग्री ढुवानी भइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार