१५ बैशाख २०८१, शनिबार

घोषित प्रदेश राजधानीमा ड्राइगन फ्रुटको खेती



धनगढी । सुदूरपश्चिम प्रदेशको घोषित राजधानी गोदावरीमा ड्राइगन फ्रुटको खेती शुरु भएको छ ।

प्रदेश राजधानी घोषणा गरिएको जमीन नजिकै गोदावरी नगरपालिका वडा नं. २ तेघरीमा भीमदत्त नगरपालिका वडा नं. १ महेन्द्रनगरका व्यवसायी गोकर्ण ओलीले ड्राइगन फ्रुट रोपेका हुन् । सुदूरपश्चिमको कृषि विकास निर्देशनालयको सहयोगमा उनले तीन हजार पाँच सय बोट ड्राइगन फ्रुट रोपेका छन् । उनले गोदावरी ड्राइगन फ्रुट फर्ममा हालसम्म २८ लाख भन्दा बढि लगानी लागेको जनाएका छन् ।

तेघरीको आर्मी व्यारेक नजिकै डेढ विघा जमीन १० वर्षका लागि भाडामा लिएर गत साउनमा ड्राइगन फ्रुट रोपेको जनाए । ‘अहिले २ देखि ४ फिटको बोट भइसकेको छ,’ उनले भने, ‘रोपेको १८ महिनादेखि २ वर्षमा फल लाग्छ । एक पटक रोपेपछि २० वर्षसम्म फल्छ । त्यसपछि उत्पादन घट्दै जान्छ ।’

ओलीले ड्राइगन फ्रुट खेतीका लागि निर्देशनालयले चार लाख ८१ हजार चार सय ५० रुपैयाँ अनुदान दिएको बताए । उनले ड्राइगन फ्रुटको बोट रौतहट, सिन्धुली र दाङबाट ल्याएको जनाए । रातो जातको प्रति बोट तीन सयका दरले दुई हजार चार सय र सेतो जानको प्रति बोट दुई सयका दरले एक हजार एक सय बोट ल्याएर रोपेको ओलीले बताए ।

हाल ड्राइगन फ्रुट प्रति किलो ६ सयदेखि ८ सय रुपैयाँमा विक्री हुने गरेको छ । दक्षिण अमेरिकाको मेक्सीकोमा उत्पत्ती भएको ड्राइगन फ्रुटको खेती नेपालमा पनि दुई दशकदेखि गरिदै आएको छ । सुदूरपश्चिममा यसको खेती भएको यो नै पहिलो रहेको प्रदेशका कृषि निर्देशक यज्ञराज जोशीले बताए । ओलीले कञ्चनपुरको झिलमिलामा पनि केही युवाहरुको समूहले १७ हजार बोट ड्राइगन फ्रुट रोप्ने तयारी गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार