६ बैशाख २०८१, बिहीबार

बैतडीमा कोरोनाको संक्रमण बढ्यो



बैतडी । बैतडीमा समुदायमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । जात्रा मेलाको भीड बढीरहेका बेला एकैदिन १३ जनामा कोरोना पुष्टि भएकाले समुदायमा संक्रमणको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

उनले एकै वडाका चार जना तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी बुधबार थप १३ जनामा कोरोना पुष्टि भएको बताए ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म बैतडीमा कार्यरत ६ जना, जिल्ला प्रहरी कार्यालयमा कार्यरत २ जना, दशरथचन्द नगरपालिका वडा नम्बर ४ का ४ जना र पुर्चौंडी नगरपालिकाका एक का एकजना गरी थप १३ जनामा कोरोना पुष्टि भएको उने बताए ।

यससंगै बैतडीमा कोरोना संक्रमितको संख्या ५२१ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पछिल्लो समयमा जात्रा तथा मेलाका कारण भीडभाड बढेसंगै कोरोना संक्रमणको जोखिम बढ्दै गएको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

जिल्लाका विभिन्न शक्तिपीठ तथा मन्दिरहरूमा लागेका मेलामा हजारौंका भीड लागेकाले कोरोनाको जोखिम बढ्दै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

त्यस्तै, पेन्सन बुझ्नका लागि झुलाघाट नाकामा पनि सैयौंको भीड लागेको छ । स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड नपाउँदा कोरोनाको जोखिम झन् बढ्दै गएको स्वास्थ्यकर्मीहरूले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार