२३ बैशाख २०८१, आईतवार

अनुमतिबिना क्रसर उद्योग सञ्चालन



बाजुरा । बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ८ बाहुली खोलामा अनुमतिबिना क्रसर उद्योग सञ्चालन भइरहेको छ ।

क्रसर उद्योग सञ्चालन गर्दा अनुमति लिनुपर्ने र वातावरणीय प्रभाव मूल्याकंन अध्ययन गर्नुपर्ने भए पनि कुनै प्रक्रिया पूरा नगरी उद्योग सञ्चालनमा रहेको पाइएको छ । मार्तडी–कोल्टी सडक खण्डको नौ किलोमिटर कालोपत्रे गर्ने ठेक्का पाएको धुलिखेल गाल्भा सेभन सेक्टर जेभीले बाहुलीखोलाको किनारमै क्रसर उद्योग स्थापना गरेर संकलन गरिरहेको छ ।
mसर उद्योग सञ्चालनका लागि सो कम्पनीले बडिमालिका नगरपालिका, जिल्ला समन्वय समिति, घरेलु तथा साना उद्योग विकास समिति तथा जिल्ला प्रशासन कार्यालयसंग कुनै अनुमति लिएको छैन ।
क्रसर उद्योग सञ्चालन गर्दा अनुमति लिनुपर्ने, वातावरणीय प्रभाव मूल्यांकन हुनुपर्ने, नदी तथा पुलभन्दा पाच सय मिटर टाढा हुनुपर्ने प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए ।
बाहुली नदी र पुल नजिकै क्रसर उद्योग सञ्चालन भइरहेको छ । वडामा सञ्चलनमा रहेको क्रसर उद्योग अनुमति लिएको वा नलिएको बारे आफूलाई कुनै जानकारी नभएको वडा नम्बर ८ का अध्यक्ष प्रकाश रावलले बताए ।
बडिमालिका नगरपालिका प्रमुख पदम बडुवालले भने– नगरपालिकामा निवेदन आएकोबारे मलाई कुनै जानकारी छैन ।
जिल्लामा क्रसर उद्योग सञ्चालन गर्दा स्थानीय सरकारको अनुमति र जिल्ला घरेलु उद्योग कार्यालयमा दर्ता गर्नुपर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार