१४ बैशाख २०८१, शुक्रबार

आमाबावुले छोडेका बालकले उपचार पाएनन् (भिडियो सहित)



धनगढी । सन्तानका सवालमा पनि आमाबावु निर्दयी हुन्छन भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर एक १२ वर्षीय वालक बावुआमाको स्याहारसुहारबाट मात्रै होइन उपचार समेत नपाएर अलपत्र परेका छन् ।

लठ्ठीको साहराले हिड्दै गरेका रोशन तामाङ ।

धनगढी उपमहानगरपालिका–१४ का फुलवारी एचगाउँका रोशन तामाङ आमाबावुको मायाममता नपाएका हुन् । आमाको लापरवाहीले सात महिनाकै उमेरमा ढाडमा समस्या आएर अपांग भएका रोशनको उनका बुवाले समेत उपचार गराउने प्रयास गरेनन् ।

रोशनलाई बज्यै फुलमाया तामाङले हेरचाह गरिरहेकी छिन् । ‘मेरो छोरो (रोशनको बुवा) अर्की श्रीमति लिएर पोखरा गएको छ,’ फुलमायाले भनिन्, ‘आमाले छोडेको पनि नौ वर्ष भयो । आमाबावुले छोडेपछि मैले हेरिरहेकी छु । रोशनकी आमा भक्तपुरतिर बस्ने गरेको सुनेकी छु । म ६० वर्षकी भए म नभएपछि यो नातीलाई कसले हेर्छ ?’

आफ्नी बजैका साथ रोशन तामाङ

‘नातीको उपचार गरे ढाडको समस्या ठिक हुन्थ्यो होला तर न पैसा छ न त उपचारमा सहयोग गरिदिने कोही छ,’ उनले अगाडि भनिन्, ‘काठमाडौ लगे उपचार हुन्छ भन्छन् तर कसरी उपचार गराउ ।’

रोशन राम्रोसित बोल्न समेत सक्दैन । दुईवटा लठ्ठीको साहराले मुस्किलले हिड्छन् । ‘राम्ररी बोल्न नसक्ने भएकोले स्कुल पनि गएन,’ रोशनकी बजै फुलमायाले भनिन्, ‘बल्ल बल्ल सरकारी स्कुल पठाएकी छु । १२ वर्षको उमेरमा एक कक्षामा पढ्छ ।’

रोशनले आफूलाई उपचार गर्ने मन लागेको संकेत गरे । उनी नयाँ मान्छे गाउँमा देख्दा विभिन्न संकेतले उपचार गराइ दिन आग्रह गर्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार