१२ श्रावण २०८१, शनिबार

नेकपा पार्टी फुट्दैन : नेता रावल



धनगढी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीम रावलले दुबै तहको सरकारका मन्त्रीपरिषद् हेरफेर हुने बताएका छन् ।

प्रेस संगठन कैलाली आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता रावलले प्रदेश र संघ सरकारको मन्त्री परिषद् फेरबदल गर्ने निर्णय भएको जनाएका हुन् । उनले भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले निर्णय गरेको जनाए । उनले सबै सरकार र संघ सरकारको मूल्यांकन गरी आवश्यक हेरफेर गर्ने निर्णयमा प्रष्ट लेखिएको जनाए ।

उनले आवश्यकता अनुसार फेरबदलको निर्णय भएपनि पार्टी नेतृत्वले निर्णय कार्यान्वयन नगरेको भन्दै आपत्ति समेत जनाएका छन् । नेता रावलले तीन वर्ष बितेपछि सरकारको समीक्षा गरेर बाँकी दुई वर्षलाई अझै सफल बनाउन नेतृत्वहरुको ध्यान नगएको बताए । ‘भागबन्डा नमिलेकोमा हाम्रो आपत्ति होइन’ उनले भने, ‘स्थायी समितिको निर्णय कार्यान्वयन नभएको विषयमा आपत्ति छ ।’

नेता रावलले पार्टीमा विवाद सतहमा पुगेको भएपनि कसैले भन्दैमा पार्टी नफुट्ने बताएका छन् । उनले नेकपा पार्टी माटोको हाडिले नबनेको बताउँदै कुनै व्यक्तिले लठ्लिे हानेर आजको मितिबाट फुट्यो भन्दैमा नफुट्ने दावी गरे । उनले पार्टी विभाजनका लागि प्रक्रिया पुरा गर्नुपर्ने बताउँदै त्यो प्रक्रिया पुरा गर्न कोही पनि नलागेको बताए ।

उनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल दुवैले पार्टी फुटाउने योजनामा नरहेको दावी समेत गरे । ‘प्रधानमन्त्रीले पार्टी फुटाएर त्यो भन्दा ठुलो पद के पाउनुहुन्छ ?,’ नेता रावलले प्रश्न गरे, ‘किन फुटाउनु हुन्छ ? प्रचण्डले पनि यति विशाल पार्टी फुटाएर के प्राप्ति हुन्छ ? दुबै अध्यक्षले पार्टी फुटाउने कुरामा लाग्नु हुनुहुन्न ।’

उनले मंसिर १३ गते बोलाइएको सचिवालय र स्थायी कमिटी बैठकबाट सबै समस्या तथा मनमुटाब समाधान हुने समेत दाबी गरे । उनले दुई अध्यक्षहरु पार्टीको विवादबारे कुरा राखिरहेको भएपनि आफूले बोल्न नपाएको समेत गुनासो गरे । उनले सबैले कुरा राख्न नपाउँदा पार्टीमा गम्भीर अवस्था सिर्जना भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार