२३ बैशाख २०८१, आईतवार

खोला, नहरको पानीमा भर



धनगढी । टाउकोमा नाम्लो । पिठ्युमा ठुलो जार । बाटैमा हिड्दै गर्दा उनले भनिन्– तल नहरमा पानी लिन जान लागेको । उनी, अर्थात् कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बान्द्रेगडाकी नन्दा बोहरा ।

नन्दाका अनुसार उनको वस्तीमा खानेपानी सुविधा नभएकाले आधा घण्टा हिँडेर नहरबाट खानेपानी ल्याउनु पर्ने बाध्यता छ । उनले भनिन्– यही कतै (बान्द्रेगडा) मा खानेपानीको आयोजना बन्दै छ भन्ने सुन्दैछौं, खै कहिले पुग्ने हो खानेपानी ?’

सोही वडाको हार्टखोलीकी दिपादेवी साउँद सिंचाईंका लागि बनाइएको कुलोबाट जर्किनले गाइगोरु खानका लागि बनाइएको कुँडोको भाडोमा पानी भर्दै थिइन् । उनले भनिन्– हामी त यो कुलोको पानी खाँदैनौ, तर गाई गोरुका लागि यही पानी प्रयोग गर्छौ ।’ उनले पनि वस्ती भरी खानेपानी समस्या रहेको गुनासो गरिन् ।

साविकको गोदावरी गाविस वडा नम्बर ८ (हाल वडा नम्बर ४) को हार्टखोली, बन्द्रागढा, फूलबस्ती, बुढीतोला लगायतका बस्तीका मानिस खानेपानीको सुविधा नहुँदा खोला, नहर तथा मुलको पानी पिउन बाध्यता रहेको वडा अध्यक्ष प्रेमबहादुर भण्डारीले बताए ।

हार्टखोली, बन्द्रागढाका वस्तीमा खानेपानीको व्यवस्था नभए पनि ठाउ“–ठाउ“मा धाराहरू बनाइएको छ । तर, ती धारामा पाइप जोडिएका छैनन् । सिमेन्टले बनाइएको धारामा टुटी समेत जोडिएको छैन । बान्द्रेगडाका देवबहादुर नेपालीले भने– यहाँ खोलाबाट पानी बोकेर ल्याएर खानुपर्ने अवस्था छ ।’ उनले वस्तीमा राखिएको धाराहरूको छेउमा पाइपहरू राखिएको बताए । भने– तर, ती पाइपमा कहिलेकाँही मात्र पानी आउने गर्दछ । उनले सिंचाईंका लागि बनाइएको नहरबाटै पानीको व्यवस्था वस्तीमा पुर्याइएको बताए ।

गोदावरी नगरपालिकाको हार्टखोली अहिले आन्तरिक पर्यटकको रोजाईं बनेको छ । त्यहाँस्थित कालीखोला (खुटिया नदी) मा नुहाउन तथा पिकनिकका लागि रोजाईंस्थल बनेको छ । हार्टखोलीमा होटल व्यवसाय गरिरहेका डम्बरबहादुर बोहराले भने– यहाँ चैत महिनादेखि असोजसम्म गर्मी छल्न आन्तरिक पर्यटकहरू आइरहन्छन् । तिहारपछि पिकनिकका लागि आउने गर्छन् । उनले खानेपानी समस्या हुँदा आन्तरिक पर्यटकहरूले पनि समस्या भोग्नुपरेको बताए ।

उनले स्थानीय तह, प्रदेश तथा संघिय सरकारले खानेपानीको व्यवस्था गरिदिए हार्टखोलीमा पर्यटकको संख्या बढ्ने विश्वास व्यक्त गरे ।

बान्द्रेगडाका रत्नी साउदले खोलाबाट पानी ल्याएर पिउँदा स्वास्थ्य समस्या भोग्नुपर्ने अवस्था रहेको बताए । उनले भने– मानिस, पशुहरूले नुहाएको खोलाकै पानी हामी पिउँदै छौं । त्यो पानीले गर्दा झाडापखाला, हैजा, आउँ लगायत वर्षौसम्म बिरामी भएर अन्य रोगको शिकार हुनुपर्ने अवस्था छ ।’

वडा अध्यक्ष प्रेमबहादुरले भने– साविकको गोदावरी गाविसका पहाडी क्षेत्रका स्थानीयहरूको खानेपानीको समस्या समाधान गर्न लागिरहेका छौं ।’ सो वडामा झण्डै दुई हजार एक सय बढी घरधुरी रहेका छन ।

उनले पहाडी क्षेत्र भएकाले भुमिगत प्रविधिबाट खानेपानीको व्यवस्था गर्न सम्भव नरहेकोले लिप्mट प्रविधिबाट खानेपानीको व्यवस्था गर्नुपर्ने अवस्था रहेको बताए । उनले भने– बन्द्रागढामा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयबाट भुमिगत प्रविधिबाट पानीको व्यवस्था गर्न कार्य अघि बढाइएको छ । त्यहाँ अहिले बोरिङ गाडिसकिएको छ ।’ उनका अनुसार सो आयोजना पूर्ण भए झण्डै तीन सय घरधुरी लाभान्वित हुने छन ।

उनका अनुसार नगरपालिकाले अहिले बुढीतोलामा लिफ्ट खानेपानी आयोजनाको कार्य अघि बढाएको बताए । उनले भने– बुढीतोलामा खानेपानीको व्यवस्था गर्न चालु आर्थिक वर्षमा २० लाख रुपैया“ विनियोजन गरिएको छ । सो आयोजना कहिले सम्पन्न हुन्छ अहिले भन्न सकिदैन ।’ उनका अनुसार आयोजनाको काम अघि बढाउने अहिले उपभोक्ता समिति गठन गरिएको छ । बुढीतोलाको आयोजनाबाट पाँच सय घरधुरी लाभान्वित हुने बताए ।

उनले सोलारको प्रयोगबाट लिफ्ट प्रविधिको खानेपानी योजना अघि बढाउ“दा लागत बढ्न सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार