७ कार्तिक २०८१, बुधबार

प्रत्येक पाँच किलोमिटरमा विओपी स्थापना हुँदै



धनगढी । भारतसँग सीमा जोडिएको कैलालीको सीमावर्ती क्षेत्रमा प्रत्येक पाँच किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको एउटा बिओपी (सीमा सुरक्षा पोष्ट) स्थापना गर्न पहल गरिएको छ ।

सीमा क्षेत्रमा हुनसक्ने आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रणका साथै सीमा सुरक्षाको कामलाई थप प्रभावकारी बनाउन सीमावर्ती क्षेत्रका थप सात ठाउ“मा बिओपी स्थापनाको पहल भएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीका प्रमुख प्रहरी (बरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक) दीपेन्द्र कुँवरले भारतसँग सिमा जोडिएको धनगढीको पुण्टेघाट र ललितपुर, कैलारी गाउ“पालिकाको लठ्ठाघाट, भजनी नगरपालिकाको हलौनाघाट, कालापातल र पगियापसर तथा टीकापुरको कालाकुण्डमा थप एक/एक बिओपी स्थापना गर्न पहल गरिएको बताए ।

कैलालीको सीमा क्षेत्रमा हालसम्म १० देखि १२ किमीको दूरीमा सशस्त्र प्रहरी बलको एउटा बिओपी रहेको छ । कैलाली जिल्लाको १०१ किलोमिटर लामो सीमा भारतसँग जोडिएको छ । सीमापारि भारतीय भूमिमा प्रत्येक पाँच किलोमिटरको दूरीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को पोष्ट सञ्चालनमा रहेका छन् ।

वरिष्ठ प्रहरी उपरीक्षक कुँवरले भने– प्रत्येक पाँच किलोमिटरको दूरीमा बिओपी स्थापना भएमा सीमा सुरक्षाका साथै चोरी, तस्करी लगायतका अवैध गतिविधि रोक्न थप प्रभावकारी हुनेछ ।
नेपाल सरकारले भारत र चीनसंग सीमा जोडिएको नेपालको सीमावर्ती क्षेत्रमा पाच सय बिओपी स्थापना गर्ने लक्ष्य राखेको जनाइएको छ ।

सशस्त्र प्रहरी उपरीक्षक कुँवरले पछिल्ला महिनामा कैलाली जिल्लाको सीमा क्षेत्रमा हुने गरेको अवैध चोरी तस्करी नियन्त्रणको काममा विगतका वर्षको तुलनामा सफलता मिलेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार