२२ बैशाख २०८१, शनिबार

सुपथ मुल्य पसलमा ५० लाख बढिको कारोबार



धनगढी । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले धनगढीमा सञ्चालन गरेको चाडपर्व लक्षित सुपथ मुल्य पसलमा मंगलबारसम्म ५० लाख रुपैयाँ बढिको कारोबार भएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनले सञ्चालन गरेको सुपथ मुल्य पसलमा बजार मूल्यभन्दा कम दाममा चिनी, नुन, चामल, चिउरा, सेनिटाइजर, साबुन लगायतका वस्तु बिक्रीका लागि राखिएको छ ।
असोज १ गतेदेखि २५ गतेसम्ममा ५१ लाख ४३ हजार ६२० रुपैयाँको कारोबार भएको साल्ट टे«डिङका उपमहानिर्देशक केशवप्रसाद पाण्डेले बताए । उनले हालसम्म १२ हजार जना ग्राहकले ३८ हजार १५ किलो नुन र ४६ हजार चार सय किलो चिनी खरिद गरेको बताए ।
उपमहानिर्देशक पाण्डेले २५ दिनको अवधिमा सुपथ मुल्य पसलबाट ३९ लाख ३२ हजार २७० रुपैयाँको नुन र चिनी विक्री भएको बताए । त्यस्तै, १२ लाख ११ हजार २५० रुपैयाँ मूल्यको साबुन, सेनिटाइजर, हेन्डवास, फेसवास, चिउरा, स्याम्पू, भाँडा धुने पाउडर लगायतका सामग्री विक्री भएको छ ।
बजारमा ८५ रुपैयाँ प्रतिकिलोमा विक्री हुने चिनी सुपथ मुल्य पसलमा ७० रुपैयाँ र २५ रुपैयाँमा पाइने नुन पुसथ मुल्य पसलमा १८ रुपैयाँमा विक्री भइरहेको छ । सुपथ मुल्य पसलमा चामल समेत विक्री भइरहेको छ । उपमहानिर्देशक पाण्डेयले सुपथ मुल्य पसलमा बजारको मुल्य भन्दा ५ देखि १५ रुपैयाँसम्म छुट दिएर विक्री गरिरहेको बताए ।
तिहार नजिकिएसंगै सुपथ मुल्य पसलमा बिहानैदेखि ग्राहकहरुको लामो लाइन लाग्ने गरेको छ । दैनिक पाँच सयदेखि छ सय जनासम्म ग्राहकहरुले सामान खरिद गरिरहेको उपमहानिर्देशक पाण्डेयले जनाए ।
तिहार नजिकिएसंगै धनगढीमा तिहारका लागि खाद्यान्न, पुजा सामाग्र्री, फुलमाला, दियो, झिमिले बत्ति, भाँडाकुँडा, भाइमसाला, मिठाई तथा रोटीका परिकार बनाउने सामग्री लगायतका सामान खरिद गर्ने ग्राहकहरुको संख्या बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार