२१ बैशाख २०८१, शुक्रबार

कोदो, फापर र कागुनो उत्पादनमा बृद्धि



धनगढी । यस वर्ष समयमा राम्रो वर्षा भएकाले सुदूरपश्चिम प्रदेशमा कोदो, फापर, कागुनो लगायतका खाद्यान्न उत्पादनमा बृद्धि भएको छ ।

सुदूरपश्चिम प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार प्रदेशमा गत वर्षको तुलनामा यस वर्ष कोदोको उत्पादन तीन प्रतिशतले बढेको छ । त्यसैगरी फापरको उत्पादन दुई प्रतिशत र कागुनोको उत्पादन २२ प्रतिशतले बृद्धि भएको छ ।
गत वर्षको तुलनामा यस वर्ष पा“च सय ६१ मेट्रिक टन कोदो बढि उत्पादन भएको छ । गत वर्ष सुदूरपश्चिम प्रदेशमा १८ हजार २६१ मेट्रिक टन कोदो उत्पादन भएको थियो । भने यस वर्ष १८ हजार आठ सय २२ मेट्रिक टन कोदो उत्पादन भएको छ ।
त्यस्तै, गत वर्षको तुलनामा प्रदेशमा यस वर्ष फापर पाच मेट्रिक टन बढि उत्पादन भएको छ । भने कागुनो ११ मेट्रिक टन बढि फलेको छ । यस वर्ष फापर दुई सय ७४ र कागुनो ६१ मेट्रिक टन फलेको निर्देशनालयले जनाएको छ ।
प्रदेशमा गत वर्ष १७ हजार तीन सय दुई हेक्टर जमिनमा कोदो खेती गरिएको थियो भने यस वर्ष १७ हजार तीन सय ३१ हेक्टरमा खेती गरिएको थियो ।
त्यस्तै, गत वर्ष तीन सय २९ हेक्टरमा फापर र ७४ हेक्टरमा कागुनो खेती गरिएको थियो भने यसवर्ष तीन सय ३४ हेक्टरमा फापर र ७७ हेक्टरमा कागुनो खेती गरिएको थियो ।
सुदूरपश्चिम प्रदेशका कृषि विकास निर्देशनालयका निर्देशक यज्ञराज जोशीले क्षेत्रफल बृद्धि र राम्रो बर्षाका कारण कोदो, फापर र कागुनोको उत्पादनमा बृद्धि भएको बताए । उनका अनुसार कैलालीमा कोदो र पहाडी सात जिल्लाहरुमा कोदो, फापर र कागुनोको खेती हु“दै आएको छ ।

फौजीकिराको कारण मकै उत्पादन घट्यो

यस पालीको बर्खे मकैमा फौजी किराको प्रकोप बढेकोले मकै उत्पादनमा भने ह्रास आएको छ ।
प्रदेशमा गत वर्षको तुलनामा सात सय ५६ मेट्रिक टन मकै उत्पादन घटेको छ । कृषि निर्देशनालयका अनुसार गत वर्ष ९२ हजार २८१ मेट्रिक टन मकै उत्पादन भएको थियो भने यस वर्ष ९१ हजार पाच सय २५ मेट्रिक टन मकै उत्पादन भएको छ ।
यस वर्ष गत वर्षको तुलनामा ४६ हेक्टर बढि जमिनमा मकै लगाइएको थियो । कृषि निर्देशक जोशीले मकै खेती क्षेत्रफल बढे पनि फौजी किराको आक्रमणले गर्दा करिब एक प्रतिशतले मकै उत्पादन घटेको बताए ।
यस वर्ष अछाममा १२ प्रतिशतले मकै उत्पादनमा कमी आएर १४ हजार ७१४ मेट्रिक टनमा झरेको छ । अछाममा गत वर्ष १६ हजार ७१२ मेट्रिक टन मकै फलेको थियो । यस वर्ष अछाममा मकै उत्पादनमा एक हजार नौ सय ९८ मेट्रिक टन कमी आएको जनाइएको छ ।
त्यस्तै, बाजुरामा पनि फौजी किरा र हावाहुरी सहितको बर्षाले गर्दा मकै उत्पादनमा छ प्रतिशतले ह्रास आएको छ । बाजुरामा यस वर्ष तीन सय ३५ मेट्रिक टन कम फलेको छ । बाजुरामा गत वर्ष पाच हजार एक सय ८५ मेट्रिक टन मकै फलेकोमा यस वर्ष चार हजार आठ सय ५० मेट्रिक टन मकै फलेको छ ।
दार्चुलामा भने यस वर्ष मकै उत्पादनमा बृद्धि भएको छ । दार्चुलामा यस वर्ष ६.३ प्रतिशतले मकै उत्पादन बढेर नौ हजार चार सय एक मेट्रिक टन फलेको छ । गत वर्ष दार्चुलामा आठ हजार आठ सय ४८ मेट्रिक टन मकै फलेको थियो ।
त्यस्तै, कैलालीमा मकैको उत्पादन २.६ प्रतिशतले बृद्धि भएर १२ हजार पाच सय ८० मेट्रिक टन फलेको छ ।
त्यस्तै, कञ्चनपुरमा पनि मकै उत्पादन ३ प्रतिशतले बृद्धि भई चार हजार ८८६ मेट्रिक टन उत्पादन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार