२१ बैशाख २०८१, शुक्रबार

राजनीतिबाट माछापालनतर्फ



धनगढी । उत्तर, दक्षिण र पश्चिम तीनतर्फ वनजंगलले घेरिएको भजनी नगरपालिका वडा नम्बर ९ पचमुडियास्थित प्राकृतिक ताल करिब ९० बिघामा फैलिएको छ ।

सो प्राकृतिक तालमा अहिले व्यवसायिक रुपमा माछापालन भइरहेको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ९ प्रतापपुरका डेजी पाण्डेयले तीन वर्षदेखि सो तालमा माछापालन व्यवसाय गर्दै आएका छन् । उनले पाँच वर्षका लागि सो प्राकृतिक ताल ठेक्कामा लिएको बताए ।

उनले भजनी नगरपालिकालाई वार्षिक ४५ लाख रुपैया राजश्व तिर्ने सहमतिमा ताल ठेक्कामा लिएको बताए । उनले भने– पहिले वार्षिक १८ लाख रुपैयामा ठेक्कामा गइरहेको थियो ।

प्रतिष्पर्धा गर्दा अहिले दोब्बर बढीमा ठेक्का स्वीकृत भयो । उनले ताल व्यवस्थापनमा अहिलेसम्म करिब पौने दुई करोड रुपैया लगानी भइसकेको बताए ।

सो तालमा अहिले छ लाख ५० हजार बढी माछाका भूरा राखिएको छ । उनले भने– माछाका भूरा राख्न मात्रै वार्षिक ३५ देखि ४० लाख रुपैया लगानी हुने गरेको छ ।

उनको तालमा पाँच जना स्थायी प्रकृतिका कर्मचारी रहेका छन् भने माछा मार्ने दिनमा ४०/५० जनाले दैनिक ज्यालादारीमा काम गर्ने गरेका छन् । उनले वार्षिक छ करोड रुपैयाको कारोबार हुने बताए ।

तालमा माछा पालनसंगै अवलोकनका लागि डुङ्गाको व्यवस्था गरिएको छ । ‘तालमा डुङ्गा सयर गर्दै माछासंग खेल्दै सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ’ पाण्डेयले भने– माछा पालनसंगै पर्यटकले मनोरञ्जन समेत लिन सकुन भनेर दुई वटा पाईडलवाला र एउटा काठको डुङ्गा तथा एउटा पाईडलवाला रिक्साको समेत प्रवन्ध मिलाईएको छ ।

पाण्डेय सत्तारुढ नेकपाका नेता पनि हुन् । २०७४ सालको निर्वाचनमा प्रदेश सभा सदस्यको टिककका लागि प्रयास गरे पनि टिकट नपाएपछि उनी माछापालनमा होमिए ।

समाजशास्त्र तथा राजनीति शास्त्रमा स्नातकोत्तर र कानून विषयमा एलएलबी उत्तीर्ण पाण्डेयले अनेरास्ववियूको क्याम्पस इकाईदेखि केन्द्रीय सदस्य, अञ्चल इन्चार्जसम्मको जिम्मेवारी बहन गरिसकेका छन् ।

उनी मुलुककै ठूलो सामुदायिक क्याम्पस कैलाली बहुमुखी क्याम्पसका सभापति पनि भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार