२३ बैशाख २०८१, आईतवार

केरा पकाउने च्याम्बर सञ्चालन



टीकापुर । केराको पकेट क्षेत्रका रूपमा विकसित हुँदै आएको टीकापुरमा केरा पकाउने च्याम्बर सञ्चालनमा आएको छ। कर्णाली कृषि सेवा प्रालिले तापक्रम व्यवस्थापन प्रणालीबाट केरा पकाउन च्याम्बर सञ्चालनमा ल्याएको हो। यसअघि केरा पकाउन विषादी प्रयोग हुँदै आएको थियो।

टीकापुर नगरपालिका— २ बन्दीपुरमा प्रालिले निर्माण गरेको च्याम्बरबाट केरा पकाउन सुरु गरिएको हो। च्याम्बरमा पकाइएको केरा लामो समयसम्म नसड्ने, विषादीरहित स्वस्थकर हुने, हेर्दा आकर्षक पहेंलो देखिने हुन्छ। राष्ट्रिय गौरबको रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाको अनुदानमा प्रालिले च्याम्बर सञ्चालनमा ल्याएको हो। ३ करोड ५६ लाख रुपैयाँको लागतमा सञ्चालनमा ल्याइएको च्याम्बरका सञ्चालनका लागि आयोजनाको कृषि कार्यान्वयन एकाइले १ करोड ९० लाख रुपैयाँ अनुदान दिएको थियो।

प्रालिका प्रबन्ध निर्देशक वीरेन्द्र ढुंगानाले विश्व बैंकको सहयोगमा नेपाल सरकारमार्फत आयोजनाको कृषि कार्यान्वयन एकाइको अनुदानमा च्याम्बर सञ्चालनमा ल्याइएको बताए। ढुंगानाका अनुसार पाँच वटा च्याम्बरमा प्रतिपटक १ सय ५० टन केरा पकाउन सकिनेछ। च्याम्बरमा राखेको पाँच दिनमा केरा बजार पठाउन सकिन्छ। प्रालिका अध्यक्ष खड्कबहादुर शाहले यस क्षेत्रका केरा कृषकसमेत सेयर सदस्य रहने बताए।

उनले भने, ‘यसका तीन पक्षलाई नै लाभ छ, केरा कृषकले बजारको समस्या भोग्न परेन, उपभोक्ताले स्वस्थ्यकर विषादीरहित केरा पाउने भए भने कृषक नै सेयर सदस्य हुनाले नाफा पनि हुने भो।’ उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर कृषकलाई बजारको सहजीकरण गर्न मद्दत पुग्ने उनले बताए। उनले प्रालिले केराका अन्य परिकारसमेत उत्पादन गर्ने लक्ष्य रहेको बताए। अन्नपूर्णबाट

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार