२३ बैशाख २०८१, आईतवार

सडक विस्तारका लागि घरधनीहरू भत्काउन थाले घर तथा संरचना



धनगढी । क्षेत्रीय शहरी विकास आयोजना अन्तरका सडकहरू विस्तारका लागि धनगढीका घरधनीहरू सडक क्षेत्रधिकार भित्र पर्ने संरचनाहरू भत्काउन थालेका छन् ।

नगरका सडकहरू फराकिला बनाउनका लागि घरधनीहरू सडक क्षेत्रधिकार भित्र पर्ने पर्खाल, घर, टहराहरू भत्काउन थालेको बताइएको छ ।
बुधवार धनगढी उपमहानगरपालिका वडा नम्बर २ का नौ जना घरधनी र वडा नम्बर ५ का चार जना घरधनीले आफैंले संरचना भत्काउन सुरु गरे ।
वडा नम्बर २ मा निर्माण भैरहेको गुल्मदेखि चर्चसम्मको सडकखण्ड १० मिटर फराकिलो बन्दै छ भने वडा नम्बर ५ भएर निर्माण गरिने क्याम्पस रोड– चटकपुर सडक १६ मिटर फराकिलो बनाईदै छ ।
सडक विस्तारमा सहयोग गर्दै घरधनी स्वयंले घर, पर्खाल सहितका संरचना भत्काउन शुरु गरेपछि नगर प्रमुख, उपप्रमुख, डिभिजनल इन्जिनियर उपस्थित भएर सडक क्षेत्र छुट्टाउने काममा सहयोग गरेका थिए ।
नगर प्रमुख नृपबहादुर वडले भने– नगरवासीले सडक विस्तारका लागि गरेको सहयोगले क्षेत्रीय शहरी विकास आयोजनाहरू समयमै पुरा हुनेमा आशावादी छौं ।
धनगढी उपमहानगरपालिकाले सडक क्षेत्रधिकारमा पर्ने संरचना भत्काउने घरधनीलाई आदर्श नगरवासीको रुपमा सम्मान गर्ने, भत्काएको भागको नक्सापासमा कर छुट गर्ने र सोही भागमा रंगरोगन गर्दा सहयोग गर्ने निर्णय गरेको छ ।
घर भत्काउने स्थलमा रहेका उपप्रमुख सुशीला मिश्र भट्टले धनगढीका नगरवासीले विकासका लागि हातेमालो गर्छन् भन्ने सन्देश दिएको बताइन् ।
सडक विस्तारका लागि आफ्नो क्याम्पसको कम्पाउन्डको पर्खाल आफै भत्काएका सुदूरपश्चिम ऐकेडेमीका निर्देशक सुवास शाहीले नगरको विकासका लागि सहयोग पुगोस भनेर आफैले संरचना भत्काउन सुरु गरेको बताए ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरका गम्भीरसिंह बमले नगरको विकास निर्माण कार्यमा कसैले पनि अवरोध गर्न नहुने बताए । “क्षेत्रीय शहरी विकास आयोजना अन्तरगतको यो सडक १६ मिटरको बन्दै छ” उनले भने– थोरै क्षेत्राधिकारमा मेरो संरचना पर्ने भएकाले मैले आफ्नो पक्की घर आफै भत्काउन सुरु गरेको छु ।
क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत पहिलो चरणमा सात वटा सडक निर्माण हुने गरि २०७७ साल असार २८ गते सम्झौता भएको उपमहानगरपालिकाका डिभिनल इन्जिनियर द्विजराज भट्टले बताए । उनले भने– गुल्म–चर्च रोड (दुई हजार सात मिटर), धनगढी मेन रोड, ट्राफिक चौराहादेखि कैलालीनाला (एक हजार तीन सय ८० मिटर), हुलाकी सडक–क्याम्पस रोड–जाखोरताल (सात सय मिटर), क्याम्पस रोड– चटकपुर (तीन हजार छ सय ५० मिटर), धनगढी–खुटिया स्याउले रोड (आठ सय ७० मिटर), मालपोत रोड (चार सय ३० मिटर र हसनपुर रोड (एक हजार एक सय ५० मिटर) रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार