८ बैशाख २०८१, शनिबार

प्रहरी जवान साउँदकाे शब नदीबाट झिकियाे



  • भारतीय नागरिक सहित २० जना भन्दा बढि पक्राउ
  • साँझ आराेपितहरूलाई सार्वजनिक गरिदै

धनगढी । तस्करकाे समूहद्वारा हत्या गरिएका प्रहरी जवान रामबहादुर साउँदको पनि शव फेला परेको छ ।

प्रहरीले साउँदकाे शव मंगलबार बिहान माेहना नदीकाे मझधारमा गाडिएकाे अवस्थामा फेला पारेकाे हाे । घटना भएकाे करिब साढे तीन दिनपछि प्रहरीले मृतक साउँदकाे शब नदीबाट झिकेकाे छ ।

शनिबार राति साउँद प्रहरी सहायक निरीक्षक गोविन्द बिकसँगै माेटरसाइकलमा गस्तीमा गएका बेला उनीहरू दुबै जनाकाे हत्या भएका प्रहरीले जनाएकाे छ । प्रहरी सहायक निरीक्षक बिककाे शब आइतबार बिहान मोहना नदी किनारमा घाँटी रेटिएकाे अवस्थामा फेला पारेकाे थियाे ।

उनीहरू तस्करहरूले प्रयाेग गर्ने घाटतिर नेपाल–भारत सीमा क्षेत्रमा नियमित गस्तीमा गएका थिए । धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत उनीहरु राति साढे १० बजेबाट सम्पर्कविहीन भएका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एवम् प्रहरी उपरीक्षक दिलिप देउवाले साउँदकाे शब पाेष्ट मार्टमका लागि सेती प्रादेशिक अस्पतालमा ल्याएकाे जनाए । उनले प्रहरी सहायक निरीक्षक बिकको शव फेला परेकोभन्दा केहीमाथि नदीमा जवान साउँदको शव फेला परेको बताए ।

मृतक साउँदको शरीरको अन्य भाग बालुवाले छोपिए पनि खुट्टा भने पानीभित्र देखिएको थियाे। घटना भएको स्थानमा देखिएको दृश्य र फेला परेको प्रमाण अनुसार दुवै जनाको अन्यत्र हत्या गरेर नदीमा फालिएको प्रहरी निष्कर्ष छ । आपराधिक समूहले दुवै जना प्रहरीको हत्या नजिकको उखुबारीमा गरेको प्रहरी अनुमान छ ।

घटना भएको क्षेत्र तस्करीको ट्रान्जिट प्वाइन्ट मानिन्छ । नजिक रहेको भारतीय पारासरिया, सुडा, बनगटी बजारबाट विभिन्न सामान तस्करी हुँदै आएको छ । दुवै प्रहरीको तस्कर समूहले नै निर्ममतापूर्व हत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।

स्थानीय तस्करले तस्करी गरेर ल्याउँदै गरेको सामान अस्थायी प्रहरी चेकपोष्टले पक्राउ गरेको चार दिनपछि घटना भएको हो । हत्या गरेकाे आशंकामा प्रहरीले २० जना भन्दा बढिलाई पक्राउ गरेकाे थियाे । घटना भएको आसपास गाउँका १६ जनालाई प्रहरीले आइतबार नै पक्राउ गरेकाे थियाे । प्रहरीले मंगलबार पनि केहीलार्इ पक्राउ गरेकाे छ । ति मध्ये केही जना भारतीय नागरिक समेत रहेकाे जनाइएकाे छ । पक्राउ परेका मध्ये केहीले आराेप स्वीकार गरेकाे समेत प्रहरी स्राेतले जनाएकाे छ ।

प्रहरीले घटनाकाे तथ्य र आराेपितलाई सार्वजनिक गर्न मंगलबार साँझ ४ बजे पत्रकार सम्मेलन बाेलाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार