१२ बैशाख २०८१, बुधबार

भासिएको तीन महिनासम्म पनि सडक मर्मत भएन



धनगढी । कैलालीको अत्तरियादेखि फल्टुडेसम्मको सडकको भासिएको तीन महिनासम्म पनि मर्मत कार्य अघि बढ्न सकेको छैन ।

सुदूरपश्चिम प्रदेशमा सात वटा पहाडी जिल्लालाई जोड्ने सो सडकमा गोदावरीदेखि तीन किलोमिटर माथिसम्मको सडकखण्ड भासिएको छ भने केही स्थानमा पर्खालहरूमा क्षति पुगेको छ ।
गत साउनमा आएको भारी वर्षा र पहिरोका कारण सो सडकमा क्षति पुगेको थियो । सडकमा आएको पहिरोका कारण अवरुद्ध सडकलाई तत्काल खुलाएर संचालनमा ल्याएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ ।
सो सडकको मर्मत कार्य हुन नसकेपछि अहिले एकतर्फी यातायात सञ्चालन गर्नेगरी माटो भरेर सडक सञ्चालनमा ल्याइएको छ ।
सो सडकमा जीप चलाइरहेका डडेल्धुराका भीमबहादुर साउदले भाँसिएको सडक देखाउँदै भने– यो सडकमा कति खेर सवारी दुर्घटना हुन्छ भन्ने त्रास लागिरहन्छ । उनले सो सडकखण्डका ठाउँ–ठाउँमा चिरा परेको तथा खाल्डाखुल्डी भएको गुनासो गरे ।
सो सडकखण्डमा चाडपर्वको समयमा यातायातको चाप बढ्ने गरेको छ । कैलाली, कञ्चनपुर, काठमाडौं तथा भारत लगायतबाट दशैं तिहार मनाउन घर फर्कने पहाडी जिल्लाका मासिनहरुका कारण सुदूरपश्चिमबासीहरूको निकै चाप हुने गर्दछ ।
सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पुर्वाधार विकासका काम अघि बढाइएकोले सो सडकमा सवारी साधनको चाप पनि बढ्दै गएको चुरे गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष टेकबहादुर शाह बताउँछन्् । सो सडकमा मालबाहक ट्रकहरूको संख्या पनि बढेकाले बिगे्रको सडक अझैं जीर्ण बन्दै गएको उनले बताए ।
सडक डिभिजन कार्यालय, महेन्द्रनगरले चालु आर्थिक वर्षमा सो सडक मर्मतका लागि कुनै कार्यक्रम नभएको बताए । कार्यालयका सूचना अधिकारी लक्ष्मण दत्त जोशीले भने –‘हामीले सो सडक मर्मतका लागि लागत स्टिमेट तयारी गरी बजेट माग गरेका छौं ।’ उनले संघिय सरकारले बजेट उपलब्ध गराएपछिमात्र मर्मत कार्य अघि बढ्ने बताए । उनका अनुसार सो सडक मर्मत गर्नका लागि एक करोड रुपैया लागत अनुमान गरिएको छ ।
उनले भने –‘सडक एकै ठाउँमा भासिएको छ । केही ठाउँमा खाल्डाखुल्डी छन् भने केही पर्खालहरूमा पनि क्षति पुगेको छ ।’
समयमै सडक मर्मत हुन नसकेपछि यातायात सञ्चालन कठिनाई हुने गरेको छ । सवारी साधन चालकहरू धेरै ठाउँमा सडक बिग्रेका कारण गाह्रो हुने गरेको बताउँछन्् ।

पूर्वपश्चिम राजमार्ग टालटुल गरिँदै

सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार मानिने चिसापानीदेखि अत्तरियासम्मको सडकखण्डमा अहिले मर्मत कार्य अघि बढाइएको छ । पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि अत्तरियासम्मको ७९ किलोमिटर सडक खण्ड ठाउँठाउँमा भत्किएको छ ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरले अहिले सो सडक मर्मत कार्य तीन चरणमा भइरहेको बताए । बहुवर्षीय ठेक्का अन्तर्गत सो सडक मर्मत कार्य भइरहेको जनाइएको छ ।
कार्यालयका सूचना अधिकारी लक्ष्मणदत्त जोशीले भने– सो सडकको मर्मतको समयावधि चैत मसान्तसम्म रहेको छ ।
उनले सडक मर्मतका लागि १७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।
‘चिसापानीदेखि अत्तरियासम्म ठाउँठाउँमा कालोपत्रे फुटेर ठूलठूला खाडल परेका छन््’ कैलाली मसुरियाका भोजबहादुर मन्नीले भने– कामविशेषले धनगढी जाँदा अत्तरियासम्मको सडकमा कष्टकर यात्रा गर्नुपर्छ ।’ रातिको समयमा मोटरसाइकलको यात्रा त झनै जोखिमपूर्ण रहेको बताउँदै उनले भने– अगाडिबाट ठूलो गाडीले बत्ती बालेर आउँदा त आँखैअगाडिका खाल्डा नदेखिँदा दुर्घटना हुन्छ ।
बर्खायाममा सडकका खाल्डामा पानी भरिँदा पनि जोखिम थप बढेको उनले बताए ।

अत्तरियादेखि चिसापानीसम्मको सडकको अवस्था देख्दा सरकार नै नभएको महसुस हुने बताउँदै अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले भने– सडकको दुरावस्था देख्दा सडक डिभिजन कार्यालयलाई लाज लाग्नुपर्ने हो, खै के गरेर बसेको छ कार्यालय ।
उनले आफूहरूले पटकपटक सडक डिभिजन कार्यालयदेखि प्रदेश सरकारलाई राजमार्ग समयमै मर्मत गर्न भने पनि सुनुवाई नभएको गुनासो उनले गुनासो गरे ।
तत्कालीन समयमा १० टनसम्मका सवारीसाधनलाई लक्षित गर्दै निर्माण गरिएको पूर्वपश्चिम राजमार्गमा पछिल्ला वर्षमा १८ देखि २० टन सम्मका मालबाहक गाडी गुड्छन् ।
यसले गर्दा सडक जीर्ण बन्दै गएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर लक्ष्मणदत्त जोशीले बताए । उनले भने– क्षमताभन्दा बढी भार थेग्न नसकेका कारण पनि राजमार्ग टुटफुट भएको हुनसक्छ ।
हरेक ४÷५ वर्षमा रिसोलिङ गर्नुपर्ने सडक पछिल्लो पटक भने रिसोलिङ नगरिएका कारण पनि सडक बिग्रिएको उनले बताए । उनका अनुसार बजेट समयमै नआएका कारण पछिल्लो समयमा रिसोलिङ नगरिएको हो ।
नियमित सडक मर्मत गर्न २०७५ फागुनमा सडक डिभिजन कार्यालय महेन्द्रनगरले तीन वर्षका लागि कालिका जोशी जेभीलाई ठेक्का दिएको थियो । तर गत चैत पहिलो साता केही स्थानमा मर्मतको काम भए पनि लकडाउन सुरु भएपछि रोकिएको निर्माण कम्पनीका सञ्चालक गणेश जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार