१४ बैशाख २०८१, शुक्रबार

उत्कृष्ट स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा स्थानीय तह पुरस्कृत (सम्मानितकाे सूचिसहित)



धनगढी । सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले प्रदेशमा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरूलाई पुरस्कार सहित सम्मान गरेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार आयोजित एक कार्यक्रममा उत्कृष्ट स्वास्थ्य संस्था, स्थानीय तह, स्वास्थ्यको क्षेत्रमा काम गर्ने संस्था र स्वास्थ्यकर्मीहरूलाई पुरस्कृत गरेको छ ।
स्वास्थ्य संस्थाहरूले आर्थिक वर्ष २०७६÷७७ मा सम्पादन गरेका कार्यक्रम तथा कोभिड–१९ रोकथामका लागि गरिएको प्रयासहरूबारे शनिबार धनगढीमा प्रदेशस्तरीय एकीकृत समीक्षा तथा सम्मान कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, प्रदेशका मुख्यसचिव बालकृष्ण घिमिरे, प्रदेश स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले पुरस्कृत स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था तथा स्थानीय तहलाई पुरस्कार, तथा सम्मान पत्र प्रदान गरे ।
सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका स्थानीय तहहरू मध्ये प्रत्येक जिल्लाको एक स्थानीय तह, तीन वटा अस्पताल, तीन वटा अस्पताल प्रमुख, कोरोना संक्रमणमुक्त भई स्वास्थ्य सेवामा निरन्तर खटिएका स्वास्थ्यकर्मी तथा चिकित्सक, प्रदेश सरकार तथा स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य सेवा प्रबाह सहयोग गर्ने विभिन्न गैरसरकारी संस्थालाई सम्मान गरिएको निर्देशनालयका जनस्वास्थ्य अधिकृत मीनराज जोशीले बताए ।
कार्यक्रममा सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर शेरबहादुर कमर, बरिष्ठ फिजिसियन डाक्टर शुभेषराज कायस्थलाई सम्मान गरियो । जनस्वास्थ्य अधिकृत जोशीका अनुसार उत्कृष्ट स्थानीय तहलाई ४० हजार, स्वास्थ्य संस्थालाई ५० हजार र स्वास्थ्यकर्मीलाई २० हजार रुपैया पुरस्कार प्रदान गरियो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले चिकित्सकहरूको उच्च मनोबलका कारण सुदूरपश्चिम प्रदेशमा नोबेल कोरोना भाइरस (कोभिड–१९) व्यवस्थापन गर्न सफल भएको चर्चा गरे ।
मुख्यमन्त्रीले प्रदेशमा राम्रो अस्पताल र उपकरण नभएको बेला पनि स्वास्थ्यकर्मीहरूले स्वास्थ्य सेवा प्रवाहमा निरन्तर लागिरहेकोमा प्रशंसा गरे । उनले देशमै पहिलो पटक सुदूरपश्चिममा कोरोना संक्रमण देखिदा र शुरुवाति चरणमा सुदूरपश्चिममै सबैभन्दा बढि संक्रमित रहेको बेला सुदूरपश्चिमबाटै देशभर कोरोना फैलिने आँकलन गरिएको र त्यसलाई चिर्न सुदूरपश्चिम प्रदेश सफल भएको दाबी गरे ।
मुख्यमन्त्री भट्टले स्वास्थ्यकर्मीहरूको मिहिनेतका कारण नै सुदू्रपश्चिम प्रदेशमा पछिल्लो समयमा कोरोना संक्रमण त्रास कम हुँदै गएको बताए । उनले भने– कुनै पनि समस्या समाधान गर्न सरोकारवाला सबैको समन्वय, सहकार्य र एकअर्कालाई सहयोग खाँचो पर्छ । कोरोना नियन्त्रणका लागि प्रदेश सरकारले लिएको नीति र कार्यक्रममा स्थानीय तह, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूले समन्वय, सहकार्य र एकअर्कालाई सहयोग गरेको बताए ।
मुख्यमन्त्री भट्टले प्रत्येक स्थानीय तहमा १५ शैय्यासम्मको अस्पताल बनाउन प्रदेश सरकारले पहल गरिरहेको बताए । ‘संघीय सरकारले प्रत्येक स्थानीय तहमा कम्तिमा पाँच शैय्याको अस्पताल बनाउने घोषणा गरेको छ’ उनले भने– यसमा हामीले थप के गरेर १५ शैय्यासम्मको अस्पताल बनाउन के गर्न सक्छौं भनेर छलफल चलाइरहेका छौं । स्थानीय तहहरूले पनि यो छलफलमा सहभागी हुन आवश्यक छ ।
कार्यक्रममा सामाजिक विकास मन्त्री सुवेदीले स्थानीय तहहरूलाई अस्पताल निर्माणका लागि रकम निकासा भइसकेको बताउँदै सो रकमबाट पाँचदेखि १० शैय्यासम्म अस्पताल सञ्चालन गर्न आग्रह गरे ।
मन्त्री सुवेदीले कोरोना नियन्त्रणका लागि प्रदेश सरकारले स्थानीय तहमा पठाएको रकमको हिसाव स्थानीय तहले मन्त्रालयमा पठाउन ढिलाई गरेको बताए ।

सम्मानितहरूकाे सूचि�

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार