२१ बैशाख २०८१, शुक्रबार

“कुन पापीले मेरी छोरीको हत्या गर्‍यो ?”



सञ्चारकर्मी निर्मला मृत्यु घटना

लम्की / “मेरी छोरी आफै मरेकी होइन, दुस्मनले हत्या गरेका हुन्” केही दिनअघि मृत अवस्थामा भेटिएकी कैलालीकी सञ्चारकर्मी निर्मला पहराईकी ७० वर्षीया आमा बाटुलीले छोरीलाई सम्झेर आखाबाट आशु खसाल्दै भनिन्– कुन पापीले मेरी छोरीको हत्या गरी रुखमा झुन्डयाइ दियो ?

निर्मला बुवाको श्राद्धको दिन भदौ २८ गते घर आएकी थिईन् । उनी २९ गते बिहानै आफुले काम गर्ने एफएम रेडियोमा गइन् । तर, त्यसपछि उनी कहिल्यै नफर्किने गरि विदा भइन् । बाटुलीका पाच छोरा र पाच छोरी मध्ये निर्मला सबैभन्दा कान्छी हुन् ।

घोडाघोडी नगरपालिका वडा नम्बर ४ जनकपुर गाउकी १९ वर्षीया निर्मला सुखडस्थित रेडियो कैलालीमा समाचार बाचिका र प्राविधिकका रुपमा कार्यरत थिइन् । रेडियोमा काम गर्न थालेपछि उनी सुखडमा दिदीसंग डेरामा बस्दै आएकी थिइन् ।

उनका परिवारजनले उनको हत्या भएको दाबी सहित किटानी जाहेरी दिएपछि प्रहरीले घोडाघोडी नगरपालिका वडा नम्बर ५ देउकलियाका २८ वर्षीय ललित जाग्री र पहलमानपुरका १९ वर्षीया साउद थरकी एउटी केटीलाई नियन्त्रणमा लिएको सुखड ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सागर बोहराले बताए ।

निर्मला भदौ ३१ गतेदेखि सम्पर्कबिहीन भएकी थिइन् । असोज १ गते प्रहरीलाई सो बारे जानकारी दिइएको थियो ।

प्रहरीले खोजी गर्दै जादा अजोज २ गते जंगलमा उनको शव भेटिएको थियो । निर्मलाका परिवारजनले ५ गते किटानी जाहेरी दिएपछि प्रहरीले नियन्त्रणमा लिएका दुवै जनालाई धनगढी पठाएको छ ।

घटनाबारे प्रहरी नायव उपरीक्षक बोहराले भने– ३१ गते बिहान १२ बजेसम्म केटा र केटीको कुरा भएको बुझिएको छ । ३० गते विवाहको विषयमा उनीहरुबीच विवाद भएको देखिन्छ । ललित, निर्मला र अर्की केटीबीच एकापसमा कुराकानी भएको खुलेको छ ।

अहिलेसम्म निर्मलाको मोबाईल भेटिएको छैन । घटनास्थलमा घास मडारिएको थियो । उनको घडी ७ /८ मिटर टाढा खसेको थियो । दुईदिनसम्म वर्षा भएको थियो । शवबाट दुर्गन्ध आउन थालेकोले उनको ३१ गते नै मृत्यु भएको हुनसक्ने सम्भावना रहेको छ । कपाल फुकेको थियो । घाँटीमा निलडाम रहेको थियो ।

कैलाली एफएमका सञ्चालक नवराज खनालले ललित जाग्री पनि २०७६ सालदेखि रेडियो कैलालीमा काम गर्दै आएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार