२१ बैशाख २०८१, शुक्रबार

बिपन्न परिवारका दृष्टिबिहिन दिदी भाइले नागरिकता पाए




डोटी / आर्थिक अभावमा लामो समयसम्म नागरिकता र अपाङ्ग परिचयपत्र बनाउनबाट बञ्चित रहेका डोटीको सायल गाउँपालिका –१ छपाली गाउँका दृष्टिबिहिन दिदी भाइले नागरिकता प्राप्त गरेका छन् ।
२७ वर्षीया मानमती भुल र २२ वर्षका भक्ते भुलले सोमबार नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।

नाबालक अवस्थामा नै अनाथ बनेका दिदी भाइलाइ सदरमुकाम सिलगढीसम्म जान आर्थिक समस्या भएका कारण नागरिकता र अपाङ्ग परिचयपत्र बनाउन सकेका थिएनन् ।

सायल गाउँपालिकाले उनीहरुलाइ नागरिकता बनाउनका सदरमुकामसम्मको गाडीभाडा र खाना बस्नको लागि आर्थिक सहयोग गरेको थियो ।

‘दृष्टि बिहिन दिदी भाइको पीडा, परिचय पत्र बनाउन जान समेत खर्च भएन’ शिर्षकको समाचार गत चैत्रमा विभिन्न सञ्चार माध्याममा आएका थिए ।

समाचार प्रकाशित भएसँगै सायल गाउँपालिकाकी उपाध्यक्ष बिष्ना सिंहले घरमै गएर उनीहरुलाइ भेटेर सहयोग गर्ने आश्वासन दिएकी थिइन । उनीहरुको परिचयपत्र र नागरिकता बनाउनमा युवा नेता धनबहादुर नेपालीले समन्वयकारी भूमिका खेल्नेका थिए ।

सायल गाउँपालिका –१ छपालीबाट सदरमुकाम सिलिगढी पुग्न छ घण्टाको पैदल र तिन घण्टासम्मको गाडीको यात्रा गर्नुपर्छ । गाउँसम्म पुगेको कच्ची सडक वर्षातले भत्किएका कारण यातायात सञ्चालन हुन सकेको छैन ।

ढिलै भए पनि नागरिकता त परिचय पत्र बनाउन पाएकोमा मानमती भुलले खुशी व्यक्त गरिन । मानमतीले भने, –‘सानैमा आमा बित्नुभयो, अर्काको काम गरेर खान्छु, भाइले पनि पटक्कै आखा देख्दैन, अव सरकारले दिने सेवा सुबिधा पनि पाइन्छ कि भन्ने आशा छ ।’

उनीहरुको आफ्नो बस्ने घर समेत छैन गाउँहरुले मिलेर निर्माण गरिदिएको सार्वजनिक भवनमा (देउघर – मन्दिरको सामान राख्न बनाएको घर) उनीहरुको बस्दै आएका छन् । सायल गाउँपालिकाकी उपाध्यक्ष बिष्णा सिंहले गाउँपालिकाबाट के सहयोग गर्न सकिन्छ सल्लाह गरेर सहयोग गर्न तयार रहेको बताइन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार