२२ बैशाख २०८१, शनिबार

१०१ वर्षीया कमलालाई घरमै नागरिकता





बैतडी / शारीरिक कठिनाईले जिल्ला सदरमुकाम पुग्न नसकेर नागरिकताविहीन बैतडीको मेलौली नगरपालिका–२, सलेनाकी १०१ वर्षीय जेष्ठ नागरिक कमला चन्दले घरमै नागरिकता पाएकी छन् ।
उनलाई मङ्गलबार बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनाराज जोशीले घरमै पुगेर नागरिकता प्रदान गरेका हुन ।

बि.सं. १९७६ मङ्सिर १२ जन्मनु भएकी कमला चन्दले १०१ वर्षको उमेरमा नागरिकता पाउनु भएको हो उनका जेठा ६३ वर्षीय छोरा मानबहादुर चन्द बताए । यसअघि उनले विना नागरिकता केही समय भत्ता पाए पनि अहिले वडा कार्यालयले नागरिकता अनिवार्य भनेपछि भत्ता रोकिएको थियो त्यसैले नागरिकता बनाइएको हो चन्दले भने ।

गाउँबाट स्टेचरमा राखेर बैतडी सदरमुकमबाट जान नसक्ने कुरा प्रमुख जिल्ला अधिकारी समक्ष राखेपछि नागरिकता दिन प्रमुख जिल्ला अधिकारी गाउँ पुगेका थिए ।

गाउँमा पुगेर १०१ वर्षीया आमालाई नमस्कार गरेर नागरिकता दिन पाउँदा अत्यन्त खुशी लागेको प्रमुख जिल्ला अधिकारी जोशीले बताए । ‘राज्य सबैको हो १०१ वर्षे आमा सदरमुकाम पुग्न नसकेर नागरिकताविहीन बन्नुभएको खबर सुनेर नागरिकता दिन गाउँमै पुगेको प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

‘अब भत्ता पाउछु, चन्दले भनिन, श्रीमान पहिले नै बित्नुभयो । त्यो बेला नागरिकता बनाइएन । अहिले हिँडेर सदरमुकाम जान नसक्ने भएपछि सिडिओ सा’पले गाउँमै आएर नागरिकता दिनुभयो ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार