२३ बैशाख २०८१, आईतवार

बसन्ता वनमा दुई किलोमिटर बन्ने टुंगो लागेन



धनगढी । कैलालीमा पर्ने धनगढीदेखि सत्तीसम्मको ६२ किलोमिटर सडक मध्ये ४४ किलोमिटर पाँच वर्ष पहिले निर्माण भइसकेको छ । तर कटैनीदेखि कान्द्रा नदीसम्मको १८ किलोमिटर सडक अझै निर्माण भएको छैन ।

सो १८ किलोमिटर मध्ये १६ किलोमिटर नेपाल सरकारको नयाँ मापदण्ड अनुसार दुई लेन (सात मिटर पीच) सहितको लगभग निर्माण सम्पन्न हुने अवस्थामा पुगेको हुलाकी सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर पदम मडैले बताए । तर बसन्ता वनभित्रको दुई किलोमिटर सडक कहिले बनाउने भन्ने टुंगो लाग्न सकेको छैन ।
डिविजन वन कार्यालय कैलालीले सडकमा पर्ने एक सय वटा रुख काट्नको लागि आदेश मागेको फाइल अगाडि नबढाइदिंदा सो स्थानमा हुलाकी सडकको ट्रयाक समेत खोलिएको छैन । इञ्जिनियर मडैले ईआर्ईए र आईईई गरी रुखमा टाँचा समेत लगाइसकिएको भएपनि कटान आदेश नपाइएकाले काम गर्न नसकिएको बताए ।
उनले डिविजन वन कार्यालयले विभिन्न अडान राख्दै कटान आदेशको फाइल अगाडि नबढाएको आरोप लगाए । ‘हुलाकी सडक निर्माण गर्नमा डिविजन वन कार्यालय बाधक भयो,’ इञ्जिनियर मडैले भने, ‘हाम्रो तर्फबाट गर्नुपर्ने सम्पूर्ण काम गरिसकेका छौं । डिविजन वन कार्यालयबाट मन्त्रालयमा फाइल नजाँदा समस्या भएको छ ।’
तर, डिविजन वन कार्यालय कैलालीले वन कार्यालयले राखेका सर्तहरु पुरा नगरेको हुनाले फाइल अगाडि बढाउन नसकिएको जनाएको छ । डिविजन वन कार्यालय कैलालीका रामचन्द्र कँडेलले बसन्ता वन अन्तराष्ट्रिय जैविक करिडोर भएकाले सो क्षेत्रमा वन्यजन्तुको अण्डर पास र ओभर पास अनिवार्य रुपमा बनाउनुपर्ने सर्त राखेको र सो बनाउन आयोजना कार्यालयले तत्परता नदेखाएको बताए । ‘पहिले हामीले हुलाकी सडकको अलाइनमेन्ट नै चेन्ज गर्न भनेका थियौ,’ उनले भने, ‘सडकको अलाइनमेन्ट चेन्ज गर्न नसकिने भएपछि हामीले अण्डर पास र ओभर पास बनाउन भनेका छौं । त्यो बनाउन पनि उनीहरुले काम गरेका छैनन् ।’
विकासको काम रोक्न नहुने र वन पनि अतिक्रमणबाट जोगाउन पर्ने भएकोले आयोजना कार्यालयलाई वनको दक्षिणी क्षेत्रमा तारबार गराएर फाइल अगाडि बढाउने सहमति भएको वन अधिकृत कँडेलले बताए । उनले तारबार गरेको अनुगमन गरेपछि मात्रै हुलाकी सडक बनाउने बाटो खोल्ने बताए । ‘पहिले अतिक्रमण रोकिने सुनिश्चित हुनु पर्छ,’ उनले भने, ‘करिडोर दक्षिणी क्षेत्रबाट अतिक्रमित हुँदै आएको छ । व्यवस्थापन नगरी सडक निर्माण गर्दा अतिक्रमण बढ्न सक्छ । हामीले पनि सकड बनाउनुपर्छ भनेर सजिलो विकल्प दिएका छौं ।’

दशैंपछि हुलाकी सडकको स्तरोन्नती हुने

कैलाली जिल्लामा पर्ने ८३.७ किलोमिटर हुलाकी सडकको चौडाई बढाउने काम दशैंपछि हुने भएको छ । सो सडकको ठेक्का लागिसकेपछि अहिले हुलाकी सडक आयोजना कार्यालय धनगढी र निर्माण कम्पनीहरुले ज्वाइन्ट सर्भे गरिरहेका हुन् । आयोजना र निर्माण कम्पनीहरुसंगको यो सर्भे छिट्टै सक्याएर निर्माण कार्य अगाडि बढाउने तयारी रहेको आयोजनाका इञ्जिनियर मडैले बताए ।
धनगढी–भजनी–सत्तिसम्मको ४४ किलो मिटर र लम्की–टीकापुर–खक्रौलासम्मको ३९.७ किलो मिटर सडक चौडा बनाउनका लागि सात खण्डमा ठेक्का लगाइएको छ । धनगढी–भजनी–सत्तिसम्मको चार खण्ड मध्ये तीन खण्ड स्वछन्द जोशी र चौथो खण्ड कालिका जोशी जेभीले निर्माणको जिम्मेवारी पाएका छन् । लम्की–टीकापुर–खक्रौलासम्मको ३ खण्ड मध्ये कालिका सुमार्गीले एक खण्ड र खड्का कृष्ण जेभीले दुई खण्ड निर्माण गर्ने सम्झौता भएको इञ्जिनियर मडैले बताए ।
साढे दुई अर्बको लागत अनुमान गरिएको हुलाकी सडक स्तरोन्नती गर्दा धनगढीको क्याम्पसरोडदेखि मनहेरासम्म तीन किलो मिटर चार लेन र बाँकी ८०.७ किलोमिटर दुई लेनको बनाइने छ । अहिले हुलाकी सडकमा एक लेन (साढे तीन मिटर) मात्रै कालोपत्रे गरिएको छ ।
पहिलो क्याम्पसरोडदेखि कनरीसम्मको ७ किलोमिटरको लागत ३७ करोड, दोश्रो खण्ड कनरीदेखि फुलवारीसम्मको १२ किलोमिटरको लागत लागत ३२ करोड, तेश्रो खण्ड फुलबारीदेखि कटौनीसम्मको ७ किलोमिटरको लागत २८ करोड र चौथो खण्ड कान्द्रदेखि सत्तीसम्मको १३ किलोमीटरको लागत ३२ करोड ७२ लाख रहेको इञ्जिनियर मडैले बताए ।
इञ्जिनियर मडैका अनुसार हुलाकी सडकको चौडाई अलकत्रा प्रविधिबाट बढाइने छ । अहिलेको हुलाकी सडक ओटासिल प्रविधिबाट निर्माण भएको छ । जुन निर्माणसम्म भएको वर्षदेखि नै भत्किएको छ । इञ्जिनियर मडैले पुरानो सडकलाई पनि अलकत्रा प्रविधिमार्फनै स्तरोन्नति गरिने बताए । उनले एक साइडको सडक निर्माण नभएसम्म अर्को साइडमा मर्मत मात्रै गरिने बताए । उनले एक साइडको निर्माण सकिएपछि मात्रै अर्को साइड निर्माण गरिने बताए ।
सडक चौडा गर्नका लागि गत मंसिरमै बोलपत्र आव्हान गरिएपनि सम्झौता यही असार ३० गते मात्रै साउन १ गतेदेखि काम गर्ने गरी भएको थियो । निर्माण कम्पनीहरुले २०७७ साउन १ गतेदेखि ३० महिनामा सो काम सम्पन्न गरिसक्नुपर्ने गरी सम्झौता भएको ईञ्जिनियर मडैले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार