२९ बैशाख २०८१, शनिबार

संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा सीमा जोगाउन खेलमैदान बन्यो





महेन्द्रनगर / भिमदत्त नगरपालिका–९ मटैना÷रिगौनामा खेलमैदान निर्माण गरिएको छ । सो खेलमैदानले नेपालको सीमा क्षेत्रको समेत सुरक्षा हुने देखिएको छ । खेल मैदानबाट केही पर भारतीय सीमा रहेको छ ।

प्रदेश सरकारको एक निर्वाचन क्षेत्रमा एक खेल मैदान निर्माण गर्ने योजना बमोजिम सो खेलमैदान निर्माण गरिएको हो ।

कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ (क) मा पर्ने सो क्षेत्रमा सङ्घीय सांसद डा. दिपकप्रसाद भट्ट, पूर्व राज्यमन्त्री तथा प्रदेश सासंद प्रकाश रावल, भीमदत्त नगरपालिका तथा स्थानीय वडा कार्यालयको सहयोगमा सो मैदानको निर्माण गरिएको हो ।

आर्थिक वर्ष २०७४/०७५ मा वडा कार्यालयको दुई लाख रकम र भीमदत्त नगरपलिकाको पाँच लाख रुपैंया आर्थिक सहयोगबाट निमार्ण शुरु गरिएको खेलमैदान अहिले प्रयोगमा ल्याउन मिल्ने अवस्थामा पुगेको छ ।
वडा कार्यालयले लगातार तीन वर्ष दुई लाखका दरले रकम प्रदान गर्दै आईरहेको छ । छ विगाह क्षेत्रफमा फैलिएको खेलमैदानबाट भीमदत्त नगरपलिकाका वडा नम्बर ९, १० र ८ का युवाहरु प्रत्यक्ष रुपमा लाभाम्बित भएका छन् । खोलाले बगाउने अवस्थामा रहेको सार्वजनिक जमिनमा बनाइएको सो मैदान निर्माणपछि खोलामा तटबन्ध हुँदा सीमा क्षेत्रको साथसाथै बस्तीको समेत बचाउ भएको छ ।

अव हामीले खेलमैदानमा फुटबल, भलिबल र क्रिकेट प्रतियोगिता गर्न सक्ने भएका छौ मैदानको संरक्षण जिम्मा लिइरहेका स्थानीय प्रगती युवा क्लबका अध्यक्ष समेत रहेका मानसिंह रावतले बताए ।

स्थानिय कामिकाटे खोलाले बगाइरहेको तथा अतिक्रमित भइरहेको सार्वजनिक जमीनको सदुपयोग गरिएको उहाँले बताउनुभयो । आर्थिक वर्ष ०७४/०७५ बाट जमिन संरक्षण गर्ने कार्य भएको भएपनि खेलकुद मैदान निर्माणको कार्यको शरुवात गर्न २०७५/०७६ मा प्रदेश सदस्य रावलको पहलमा प्रदेश सरकारबाट २० लाख रुपैयाँ प्राप्त भएपछि मैदान निर्माण कार्यको शुरुवात गरिएको थियो ।

सो संरचनाका लागि २०७६/०७७ मा सङघीय संसदका सदस्य डा. भट्टले स्थानीय साझेदारी पूर्वाधार विकास कार्यक्रमबाट १० लाख दिलाएका थिए । यस्तै गरेर राष्ट्रिय खेलकुद परिषदको आठ लाख समेत जुटाइएको थियो ।

मैदान निर्माण भएको भएपनि अझै यसमा धेरै काम रहेको र यसमा आफ्नो आवश्यक सहयोग रहने प्रदेश सभा सदस्य रावलले बताउनुभयो । उहाँले भन्नुभयो ‘मैले शुरुवात गरेको हुँ, अझै धेरै गर्नु छ, मेरो सहयोग रहन्छ ।’

खेल मैदानमा अझै मिनीकभर्डहल बनाउनुपर्ने लगायत थुप्रै काम बाँकी भएकोले अझै वडा, नगरपलिका, प्रदेश तथा संङ्घीय सरकारको. पहलमा यसलाई स्तरिय खेलमैदान बनाउन लागिपरेको वडाअध्यक्ष राम नाथले बताए ।

यसैगरि खेलकुद मैदानको निर्माणमा आफूले सक्दो सहयोग गरेको बताउँदै सङ्घीय सभाका सदस्य डा. भट्टले अझै सहयोग गर्ने बताए । उनले भने ‘मैले अघिल्लो वर्ष पनि सहयोग गरेको छु , अझै पनि सक्ने सहयोग गर्छु ’ आजको गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार