२३ बैशाख २०८१, आईतवार

दुरविन प्रविधिबाट पाठेघरको अप्रेसन





डडेल्धुरा
/ डडेल्धुरा अस्पतालमा ल्याप्रोस्कोपिक विधिबाट पाठेघरको अप्रेसन सफल भएको छ । पहिलो पटक अस्पतालमा दूरविन प्रविधिबाट पाठेघरको शल्यक्रिया गरिएको हो ।

पछिल्लो १० दिनमा चार जनाको दूरविन प्रविधिबाट पाठेघरको शल्यक्रिया गरिएको डडेलधुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.जगदीशचन्द्र बिष्टले बताए । चारै जनाको अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर राजन शाह नेतृत्वको चिकित्सकको टोलीले दूरविनबाट पाठेघरको सफल शल्यक्रिया गरेको डा. बिष्टले बताए ।

उनले भने, ‘सुदूरपश्चिम प्रदेशभरमै पहिलो पटक डडेल्धुरा अस्पतालमा दूरविनबाट पाठेघरको शल्यक्रिया गरिएको हो ।

प्रसूति गराउने शल्यक्रिया बाहेक स्त्रीरोगसँग सम्बन्धित सबै रोगको उपचार अब दूरविन प्रविधिबाट सम्भव भएको डा. राजन शाहले बताए । दूरविन प्रविधिबाट गरिने शल्यक्रिया बिरामीको स्वास्थ्यका दृष्टिकोणले निकै सुविधायुक्त र आरामदायी हुने उनको भनाइ छ ।

उनका अनुसार दूरविनबाट गरिने शल्यक्रियामा बिरामीलाई निकै सहजता हुन्छ । पेटमा सानो प्वाल पारेर शल्यक्रिया गरिने हुँदा घाउ पाक्ने, दुख्ने तथा बिरामीले महिनौंसम्म आराम गर्नुपर्ने आवश्यकता नहुने डा. शाहले बताए ।

डडेल्धुरा अस्पतालमा सो सेवा सफल भएको बताउदै डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले सुदुरपश्चिम प्रदेशका सात पहाडी जिल्लाका पाठेघरको समस्या भएका बिरामीहरुले अब सजिलै उपचार गर्नसक्ने बताए ।

अस्पतालमा विशेषज्ञ डाक्टरहरु थपिदै गएपछि अहिले बिरामीहरुको चाप बढ्दै गएको समेत अध्यक्ष ओझाले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार