३० बैशाख २०८१, आईतवार

धनगढीका छ वडामा स्वच्छताको लागि व्यवहार परिवर्तन परियोजना शुरु




धनगढी / अक्सफामको सहयोगमा फाया नेपालद्धारा सञ्चालित स्वच्छताको लागि व्यवहार परिवर्तन परियोजनाको समन्वय बैठक विहीबार धनगढी उपमहानगरपालिकाको भादामा भएको छ ।

बैठकमा नगर प्रमुख नृप वडले कोरोनाको माहामारी मात्रका कारणले नभई स्वच्छता कायम गरेर सभ्य नागरिक वन्न समेत यस कार्यक्रमले सहयोग पुग्ने बताए ।

उनले सो कार्यक्रममा आफू र नगरपालिका जोडिन तयार रहेको बताउदै वडाहरुमा वडाध्यक्ष, वडा सदस्य तथा स्वास्थ्य संस्थाका सवैले सहयोग गर्ने बताए ।

नगर प्रमुख वडले सकेसम्म केही थप वडाका बस्तिहरुमा पनि यो कार्यक्रम जोड्न आवश्यक रहेको बताए ।

उनले जोड दिदै भने वडा नम्बर १ को पशुपति टोलमा यो कार्यक्रम बढी आवश्यक थियो ।
उनले नगरको एक ठाउँमा राख्ने भनिएको डिजिटल सूचना वोर्ड सम्भव भएसम्म नगरको तीन ठाउँमा राखिदिन पनि अनुरोध गरे ।

प्रमुख प्रशासकीय अधिकृत जगन्नाथ पन्तले व्यवहार परिवर्तन वहुआयामिक विषय भएको र यससंग व्यक्ति र समुदायको आर्थिक सामाजिक विषयहरु जोडिने भएकोले यस कार्यक्रमलाई अन्य आर्थिक सामाजिक कार्यक्रमसंग पनि जोडेर वहुअयामिक वनाउनु उपयुक्त हने सुझाव दिए ।

यो कार्यक्रमबाटै समुदाय र घरभित्रको काममा लैंगिक सहकार्यको कुरा पनि संगै लग्नुपर्ने उनको भनाइ थियो ।

सो अवसरमा वडानम्बर १७ का अध्यक्ष लक्ष्मीनारायण चौधरी कार्यक्रम अत्यन्त सान्दर्भिक भएको बताउदै सम्भव भए थप बस्तिमा समेत सो कार्यक्रमलाई विस्तार गर्न अनुरोध गरे ।

यस्तै वडानम्बर १८ वडाध्यक्ष मुरारी अधिकारीले आफ्नो वडाको तर्फवाट सो कार्यक्रम सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

वडा नम्बर १५ का महिला वडासदस्य सीतादेवी सार्कीले पनि सो कार्यक्रम नमूना कार्यक्रम भएकोले परिवारमा वितरण गरिने वाल्टी लगायतका स्वच्छता सामग्री सकेसम्म कार्यक्रम लागू भएका बस्तिका सवै घरधुरीमा वितरण गर्नु पर्ने धारणा राखिन ।

छलफलमा उठेका कुरामा प्रष्टोक्ति दिदै जनसम्पर्क तथा सञ्चार संयोजक धनपति ढुंगेलले स्वच्छताको लागि व्यवहार परिवर्तन परियोजना कार्यक्रमले विभिन्न विषयहरुमा लैगिक समतालाई प्रवद्र्धन गर्ने र महिला पुरुष सहकार्यलाई प्रवद्र्धन गरिरहेको र आगामी दिनमा पनि गरिरहने बताए ।

वडा, बस्ति वा घरधुरी थप गर्ने सन्दर्भमा परियोजनको सीमितकाका कारण फाया आफैले यस सम्वन्धमा निर्णय गर्ने भन्दापनि साझेदार संस्था अक्सफामसंग सल्लाह गरिने उनले बताए ।

जनसम्पर्क तथा सञ्चार संयोजक ढुंगेलले हाललाई बस्ति वा घरधुरी थप गर्न नसकिए पनि यो नमुना कार्यक्रम भएकोले यसको प्रकृयासंग मिल्ने गरेर नगर वा वडाहरुले खर्च जुटाउन सकेमा फाया नेपालले आफ्नो अनुभव र सीपको सहयोग गर्ने प्रतिवद्धता पनि उनले गरे ।

उनले हाल कार्यक्रम गरिरहेका बस्तिहरुका सवै घरधुरीमा सहयोग गर्ने तथा डिजिटल डिस्प्लेको संख्या वढाउने सम्वन्धमा साझेदार संस्थासंग कुरा गर्ने पनि बताए ।

फायाका अध्यक्ष लोकराज भट्टको अध्यक्षमा भएको समन्वय बैठकमा कार्यक्रम लागू हुने वडा नम्बर १४, १५, १६, १७, १८ र १९ का वडाअध्यक्ष, महिला सदस्यहरु, स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार