३१ बैशाख २०८१, सोमबार

कोरोनाले जगायो युवालाई गाउँमै ठडियो ३० कोठाको आइसोलेसन भवन



बैतडी / कोरोना भाइरसको कहरले गाउँका युवालाई आइसोलेसन भवन निर्माण गर्न एकजुट बनाएको छ ।

छुट्टै आइसोलेसन नहुँदा कोरोना सङ्क्रमितलाई विद्यालयमा राख्नु पर्ने बाध्यता थियो । ३० कोठे आइसोलेसन भवन ठडिएपछि अब विद्यालय खाली हुने भएका छन् ।

करीब ५० हजार जनसंख्या रहेको बैतडीको पुरचौडी नगरपालिकाका युवाहरुले पाँच महिना लगाएर नगरपालिका–१, को हाटमा ३० वटा कोठाको आइसोलेसन भवन ठड्याएका हुन् । निर्माणको काम अन्तिम चरणमा पुगेको भवन निर्माण संलग्न युवा कर्णबहादुर धामी (किशोर)ले बताए ।

गाउँमा कोरोना करह थियो, विद्यालय खचाखच भरिएका थिए । गाउँमा त्रास थियो तर, हामीले त्रासका वीच पनि आइसोलेसन भवन निर्माण गर्ने अठोट लिएर अघि बढ्दा सङ्घीय सरकारले २० लाख रुपियाँ दिने घोषणा ग¥यो” धामीले भने यसले ठूलो आशा जगायो ।

स्थानीय पुरचौडी नगरपालिकाले पनि युवाहरुको नयाँ सोचलाई सहयोग गर्दै २५ लाख दिने घोषणा ग¥यो । अहिले स्वास्थ्य मापदण्डसहितको ३० कोठे भवन ठडिएको छ ।

निर्माणको काम अन्तिम चरणमा पुगेकोले केही दिनमै रङ्ग रोगन गरेर आइसोलेसन भवन नगरपालिकालाई हस्तान्तरण गरिने भवन निर्माणमा संलग्न उनले बताए । पुरचौडी नगर विकास समितका अध्यक्ष समेत रहेका धामीले नगरकै खाली जग्गामा भवन निर्माण गरिएको बताए ।

युवाहरुको जोस जाँगरदेखेर सुदूरपश्चिम प्रदेश सरकारले समेत पाँच लाख रुपियाँ प्रदान गरेको छ । युवाहरु आइसोलेसन निर्माण गर्न जुटेपछि स्वास्थ्यकर्मीले समेत साथ दिएका छन् । प्रत्येक कोठामा छुट्टै शौचालय, भान्साकोठा, खानेपानीको धारासहित स्वास्थ्य मापदण्ड अनुसार आइसोलेसन भवन बनेकोमा स्थानीय कोटिला स्वास्थ्य चौकीका ईन्चार्ज लोकबहादुर महराले खुसी व्यक्त गरे ।

युवाहरुले आइसोलेसन निर्माण गर्न कोभिड–१९ सम्बन्धी स्वास्थ्य मापदण्ड अनुसार कस्तो भवन बनाउन उपयुक्त हुन्छ ? भनेर सोध्न आएपछि स्वास्थ्यकर्मी समेत खटिएर सहयोग गरेको स्वास्थ्य चौकी ईन्चार्ज महराले बताए ।

नगरपालिकामा छुट्टै आइसोलेसन भवन बनेपछि सबैभन्दा बढी शिक्षक र विद्यार्थी खुशी भएको पुरचौडी नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश नागारिले बताए । “कोरोना सङ्क्रमितलाई विद्यालयमा कहिलेसम्म राख्ने ? भन्ने चिन्ता थियो” नागारिले भने “जिल्लामै पहिलो पटक पुरचौडी नगरपालिकामा नमुना आइसोलेसन भवन बनेपछि अब विद्यालयमा कोरोना संङ्क्रमित राख्ने झन्जट हटेको छ ।” पुरचौडी नगरपालिकामा कुल ११ वटा वडामा ७५ वटा विद्यालय रहेका छन् ।

कोरोना कहरकाबीच युवाहरुले आइसोलेसन भवन बनाउने प्रस्ताव लिएर आएपछि नगरपालिकाले तुरुन्त बजेट दिने निर्णय गरेको पुरचौडी नगरपालिकाका मेयर रणबहादुर कुँवरले बताए ।

अब भेटिएका कोरोना सङ्क्रमितलाई आसोलेनसनमा राखेर विद्यालयको पठन पाठन सञ्चालन गर्ने नगरपालिकाले छलफल गरिरहको मेयर कुँवरले बताए ।

पछि कोरोना सकिएपछि पुरचौडी नगरपालिकामै सुविधा सम्पन्न अस्पताल सञ्चालन गर्न समेत नवनिर्मित भवन काम लाग्ने भएकोले युवाहरुको जोस जाँगरलाई नगरपालिकाकाले पनि प्रेरित गरेको उनले बताए आजको गोरखापत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार