३० बैशाख २०८१, आईतवार

चीनसंग जोड्ने चैनपुर – ताक्लाकोट सडक निर्माण सुस्त गतिमा




बझाङ / सुदूरपश्चिम प्रदेशको त्रिदेशीय नाका जोड्ने सेती लोकमार्ग अन्र्तरगत चैनपुर–ताक्लाकोट सडक खण्डको निर्माणको काम सुस्त रहेको पाइएको छ ।

सदरमुकाम चैनपुरबाट उत्तरी खण्डमा निर्माण भइरहेको यो सडक छिटो चाँडै निर्माण गर्न यस क्षेत्रका बासिन्दाहरुको माग गर्दे आएको भए पनि सडकको ठेक्का लिएका निर्माण कम्पनीहरुको लापरवाहीका कारण निर्माण कार्य ढिला हुदै आएको छ ।

कैलालीको टीकापुरबाट सुरु भएको सेती लोकमार्ग डोटी, अछाम, बाजुरा हँुदै बझाङको चैनपुर भएर चीनको स्वशासित क्षेत्र ताक्लाकोट जोड्ने गरेर सुरु भएको हो ।

सो आयोजना सङघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्र्तगत सञ्चालन भइरहेको छ ।

सो सडकलाई भारत र चीन समेत जोड्ने नेपालको सबैभन्दा छोटो मार्ग मानिन्छ । सेती लोकमार्गको उत्तरी खण्ड बझाङको सदरमुकाम चैनपुरदेखि तिब्बतको सिमाना उरैभञ्ज्याङसम्म ११७ किलो मिटर लम्बाई भए पनि हालसम्म ३४ किलोमिटरको मात्रै ट्रयाक खोल्ने काम भएको छ ।

चैनपुरदेखि साईपाल गाउँपालिकाको धुलीसम्म सडक निर्माणका लागि दुई वटा प्याकेजमा निर्माण कार्य भइरहेका छन् ।

चैनपुर ताक्लाकोट सडक आयोजनाका ईन्जिनियर योगेन्द्र अधिकारीले भने चैनपुरदेखि रुपातोलासम्मको काम अन्तिम चरणमा पुगेको भए पनि रुपातोलादेखि माथि धुलीसम्मको काममा ढिलाइ भएको छ ।

गत वर्षको तुलनामा यो वर्ष कुनै काम पनि हुन सकेको छैन् । गएको हिउँदमा भारी हिमपात भएकाले त्यस क्षेत्रमा पनि काममा अवरोध भयो उनले बताए ।

उनले भने रुपातोलादेखि धुलीसम्मको सडक निर्माण २०७४ साल मङ्सिरदेखि काम सुरु गरेको भएपनि हालसम्म १६ किलोमिटर मात्र ट्रयाक खोलिएको बताए ।

बझाङको उत्तरी भेगको अन्तिम गाउँ धुलीसम्म पुग्न अझै २६ किलोमिटर ट्रयाक खोल्न बाँकी छ । सडकको निर्माण सेवा कम्पनीहरुले भने कहिले तेलको अभाव हुने, वर्षायाममा काम गर्न अपठ्यारो हुने लगायतका बहाना गर्दै आएका छन् ।

चैत्रदेखि कोरोना भाइरसको संक्रमणका कारण काम गर्न नसकिएको निर्माणमा संलग्न पक्षहरुको भनाइ छ ।

रुपातोला–धुली सडक खण्डका लागि ८४ करोड र चैनपुरदेखि रुपातोलासम्म २३ करोड रुपियाँको ठेक्का गरिएको छ ।

कैलालीदेखि तिव्वतको उरै भन्ज्याङसम्मको सडकको लम्बाइ २६१ किलोमिटर रहेको छ आजको गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार