२३ बैशाख २०८१, आईतवार

सुस्तगतिमा औद्योगिक ग्राम



धनगढी । नेपाल सरकारले प्रदेश तथा स्थानीय सरकारहरूको समन्वयमा औद्योगिक ग्राम स्थापनाको निर्णय गरे पनि सुदूरपश्चिम प्रदेशमा अझै कामले गति लिन सकेको छैन ।

सरकारले २०७६ साल असोजमा सुदूरपश्चिम प्रदेशमा पनि औद्योगिक ग्राम बनाउने निर्णय गरेको थियो ।

सरकारले सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, डोटी, बैतडी र बझाङमा पाँच स्थानमा औद्योगिकग्राम स्थापना गर्ने निर्णय गरेको थियो ।
हालसम्म डोटीको जोरायल गाउँपालिका वडा नम्बर २, बैतडीको मेलौली नगरपालिका वडा नम्बर १, ३, ५ र ६ मा औद्योगिकग्रामको प्रारम्भिक कार्य शुरु भएको जनाइएको छ ।
त्यस्तै, बझाङको तलकोट गाउँपालिका वडा नम्बर ६, कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १ र पुनर्बास नगरपालिकाको वडा नम्बर १ मा अझैं कामले गति लिन सकेको छैन ।
औद्योगिक ग्राम स्थापना कार्य वहुवर्षीय योजना भएकोले सो कार्यका लागि विनियोजित रकम भने फ्रिज नहुने बताइएको छ । तर, स्थानीय तहहरूले अझैं पनि औद्योगिकग्राम स्थापनातर्फ खासै चासो देखाउन सकेको देखिँदैन ।
संघीय सरकारले औद्योगिक ग्रामको स्थापनाका लागि स्थानीय तहमा ९२ लाख रुपैयाँका दरले रकम विनियोजन गरेर निकासा पठाएको बताइन्छ ।
औद्योगिक ग्राम स्थापनाका लागि हालसम्म डोटीको जोरायल गाउँपालिकाले नेपाल सरकारले निकासा गरेको ९२ लाख रुपैयाँमध्ये ८३ लाख रुपैयाँ खर्च गरिसकेको छ ।
गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले औद्योगिक ग्रामका लागि प्राप्त रकममध्ये करिब ९० प्रतिशत रकम खर्च गरिएको बताए ।
गाउँपालिका अध्यक्ष ओझाका अनुसार औद्योगिक ग्राम निर्माणका क्रममा हालसम्म ५० रोपनी जग्गामा खानेपानी, शौचालय र प्रशासनिक भवनको पर्खाल लगायतका भौतिक संरचनाको निर्माण जारी रहेको छ ।
उनले भने– यो वहुवर्षीय योजना भएकाले बाँकी कार्यलाई निरन्तरता दिइनेछ ।
औद्योगिकग्राम घोषणाका लागि संघीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र जोरायल गाउँपालिकाबीच गत वर्ष फागुन १६ गते समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
जोरायल गाउँपालिकाका अनुसार औद्योगिकग्रामका लागि पाँच सय रोपनी जग्गा अधिग्रहणका लागि पनि प्रक्रिया अघि बढाइएको छ ।
सरकारले स्थानीय स्रोत साधन, कच्चा पदार्थ, प्रविधि र सीपको उपयोग गरि लघु, घरेलु तथा साना उद्योगमा लगानी बृद्धि गरी उद्योग स्थापना, विकास र प्रवद्र्धन गर्दै रोजगारी सिर्जनाको माध्यमबाट स्थानीय अर्थतन्त्रमा योगदान पु¥याउने उद्देश्यले औद्योगिकग्राम निर्माणको निणृय गरेको बताइन्छ ।
जोरायल गाउँपालिकाको बुडरमा औद्योगिकग्राम स्थापनाको लागि गाउँपालिकाले लामो समयदेखि पहल गरेको थियो ।
त्यस्तै, बैतडीको मेलौली नगरपालिकामा औद्योगिक ग्राम निर्माणका क्रममा हालसम्म आठ लाख रुपैयाँ खर्च भइसकेको जनाइएको छ ।
मेलौली नगर उपप्रमुख राधा देवी ओझाले औद्योगिकग्राम स्थापनाका लागि यस वर्ष भवन लगायतका संरचना निर्माण गरिने बताइन् ।
उनका अनुसार मेलौली नगरपालिकाको लामालेक बजार नजिकै पेले–सिरेडोमा भवन तयार गर्ने र सडक चौडा गर्ने काम चालू आर्थिक वर्षभित्रै पुरा हुने छ ।

त्यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिकाले वडा नम्बर १ मा औद्योगिक ग्राम स्थापनाका लागि ६ विघा जमिनको प्रबन्ध गरेको छ । भने कञ्चनपुरकै बेलौरी नगरपालिकाले पनि वडा नम्बर १ मा औद्योगिक ग्रामका लागि पाँच बिघा जग्गा छुट्याएको जनाएको छ ।
बझाङको तल्कोट गाउँपालिकाले लकडाउनकबा कारण औद्योगिक ग्राम निर्माण कार्यमा ढिलाई आएको जनाएको छ ।
तल्कोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज भण्डारीले ३० रोपनी जग्गाको व्यवस्था गरिएको बताए ।
उनले भने– औद्योगिक ग्रामका लागि सडक निर्माण भईसकेको छ भने घेरबार, खानेपानी तथा सिंचाई कुलोको निर्माण कार्य जारी छ । चाँडै डिपिआर बनाएर टेण्डर आव्हान गर्ने तयारीमा छौं ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार