१० श्रावण २०८१, बिहीबार

बालश्रममुक्त गाउँ/नगरको कार्यक्रम कागजमा सिमित



धनगढी । धनगढी उपमहानगरपालिका एक १४ वर्षीया बालिका दुइ महिनादेखि घरेलु कामदारमा छिन् । ती बालिका कस्को घरमा काम गरिरहेकी छन् आफन्तबाहेक अन्य कसैलाई जानकारी छैन ।

एक महिनाअघि ती बालिकाकी आमा बालबालिका क्षेत्रमा काम गर्दै आइरहेको बाल हेल्पलाईन सिविन नेपाल पुगेपछिमात्र लकडाउनले बालश्रम पुनः निम्त्याएको दृश्य देखियो । सिविन नेपालकी सुदूरपश्चिम प्रदेशकी कार्यक्रम संयोजक विष्णु पौडेलले भनिन– हाम्रोमा बालश्रम सम्बन्धी उजुरीहरू आएका छैनन् । तर, सरकारले लकडाउन जारी गरेपछि बालश्रम बढेको केही दृश्यहरूले देखाएको छ ।

ती बालिका यसअघि स्थानीय सामुदायिक विद्यालयमा अध्ययनरत थिइन । ‘पढाइ राम्रै थियो तर लकडाउनका कारण घरमा खानाको जोहो गर्न समस्या भएपछि छोरी अहिले घरेलु कामदारमा छिन्’ ती महिलाले सिविन नेपालमा जानकारी गराएको कुरा उदृत गर्दै कार्यक्रम संयोजक पौडेलले बताइन ।

कैलालीको घोडाघोडी नगरपालिकाकी १० वर्षीय एक बालक एक वर्षदेखि स्थानीय होटलमा काम गर्दै आएका छन् । हातमा कापी कलम र पिठ्युँमा झोला बोकेर विद्यालय जाने उनको रहर अहिले अधुरो छ । होटलमा भाडा माझ्दै गरेको अवस्थामा भेटिएका ती बालकले भने–आमाको मृत्यु भयो । बुवाले अर्को महिलासंग विवाह गरेर भारत गए । भाई र मेरो गुजारा चलाउन यहाँ काम गरिरहेको छु ।’

उनले होटलले खान र बस्नबाहेक केही सुविधा नदिएको गुनासो गरे । ‘होटलमा सबै काम गर्नु पर्छ । अहिलेसम्म तलब दिएको छैन । साहुँले भाईलाई पढाई दिन्छु भनेको छ । तर, त्यो पनि गरिदिएन ।’ उनले रहरले नभइ बाध्यताले काम गरिरहनुपरेको बताए । उनले भने– यो काम गर्न मन छैन । तर बाध्य भएर काम गरीरहेको छु । पढ्ने मन छ । तर कसरी पढ्ने ?

कैलालीकै गोदावरी नगरपालिका वडा नम्बर ९ बल्मीका अधिकाँस घरपरिवारको जिविकोपार्जन ‘गिट्टी कुटेरै’ चल्छ । अहिले कोरोना भाइरस कोभिड–१९ का कारण विद्यालयहरू ठप्प छन्् । विद्यालय ठप्प भएपछि त्यस क्षेत्रका बालबालिका पनि आफन्तसंग गिट्टी कुट्न जान्छन् । आईतबार त्यहाँ पुग्दा उमेरले ७ वर्षीया बालिका गिट्टी कुट्दै थिइन । स्थानीय नीजि विद्यालयमा कक्षा युकेजीमा अध्यापन गरिरहेकी ती बालिका सकि नसकी त्यो काम गरिरहेकी थिइन । एक हातमा हत्यौडा र अर्को हातमा रबरले ढुङ्गा च्यापेर कुटिरहेकी थिइन । बालिकाकी आमाले भनिन– छोरी नीजि विद्यालयमा पढछे । अहिले विद्यालय पनि बन्द छ र घरमा पनि कोही हुँदैन । एक्लै घरमा बसाउनु भएन त्यसैले यही ल्याएर गिट्टी कुट्छे ।

गोदावरी नगरपालिका बल्मीकी १४ वर्षीया निर्मला धामी (नाम परिवर्तन) पनि खुटिया किनारमै गिट्टी कुटिरहेकी थिइन । ती बालिकाले विद्यालय सञ्चालन नहुने दिन गिट्टी कुट्ने गरेको बताइन ।

उनले भनिन– घर खर्च परिवारले यही गिट्टी कुटेर जोहो गर्छन । म पनि आफनो कापी कलमको जोहो गर्न विदाको समयमा गिट्टी कुट्न आउँछु ।’ उनले अहिले विद्यालय बन्द हुँदा दैनिक गिट्टी कुट्नु परेको बताइन ।

धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४/७५ देखि धनगढीलाई बालश्रममुक्त बनाउने योजना अघि बढाएको थियो । अहिलेसम्म त्यो योजना कार्यान्वयन हुन सकेको छैन ।

धनगढी उपमहानगरपालिकाका सामुदायिक विकास शाखा अधिकृत टंक विष्टले भने– श्रमिक बालबालिकाको तथ्यांक संकलन गर्नुपर्ने प्रमुख योजना थियो । कति उमेरका को बालक कहाँ काम गरिरहेको छ र कुन ठाउँका हुन त्यही अनुसार कार्यक्रम निर्माण गरिनुपर्ने थियो ।

उनले अहिलेसम्म तथ्यांकसम्म संकलन हुन नसकेको बताए । ‘अहिले सरकारले लकडाउन जारी गरेको छ । त्यसका कारण झन यो काम अघि बढ्न सकेन’ उनलाई हामीले यसअघि पनि तथ्यांक संकलन हुन सकेन त भन्ने जिज्ञासा राख्दा भने– विविध कारणले तथ्यांक संकलन हुन सकेन जसका कारण अहिलेसम्म कार्यक्रमण निर्माण हुन सकेन ।’

अहिले तीन वटै तहका सरकारले बालबालिका क्षेत्रमा कार्यक्रम र योजना निर्माण गरिरहेका छन् । बालश्रम मुक्त नगर, प्रदेश र देश बनाउन कार्ययोजना निर्माणको चरणमा रहेको छ ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालयकी महिला विकास अधिकृत जयन्ती गिरीले भनिन– कार्ययोजना निर्माणको चरणमा रहेको थियो । कोरोना भाइरसका कारण प्रभावित भयो ।

मन्त्रालय बालश्रम मुक्त प्रदेश बनाउन प्रभावकारी रुपमा कार्यक्रम अघि बढाउन सकेको छैन । मन्त्रालयकी महिला विकास अधिकृत गिरीले भनिन्– बालश्रमका लागि भनेर हामीले छुट्टै कार्यक्रम बनाएका छैनौं ।’ उनले सडक बालबालिकाको उद्दार गर्नमात्र कार्यक्रम यस वर्ष अघि बढाइएको बताइन ।

बढ्दो बालविवाह

सरकारले लकडाउन जारी गरेको पहिलो सातामै घोडाघोडीकी १५ वर्षीया बालिका कैलारी गाउँपालिका बस्ने अन्दाजी २२ वर्षीय केटासंग विवाह गरिन् । बालिकाकी आमाले बालहेल्पलाइनमा उजुरी गरेपछि ती बालिकाको उद्दार गरिएको थियो ।

बालहेल्पलाईन सिविन नेपालकी कार्यक्रम संयोजक पौडेलले भनिन्– ती युवकलाई एक दिन हिरासतमा राखियो भने बालिकालाई सम्झाई बुझाई आफन्तको जिम्मा लगाइएको थियो ।

टीकापुर नगरपालिकाका एक १७ वर्षीया बालिका र लम्कीका १७ वर्षीय बालकले लकडाउनकै समयमा बालविवाह गरे । सिविन नेपालमा जाहेरी आएपछि बालक र बालिकाको उद्दार गरी आफन्तको जिम्मा लगाइएको बताइन ।

सिविन नेपालमा यो पाँच महिनामा बालविवाहका १६ वटा उजुरी दर्ता भएको छ । संयोजक पौडेलले भनिन– हाम्रोमा आएको बालविवाहसम्बन्धी उजुरी यो धेरै हो । यसले बालविवाहको अवस्था भयवह देखिन्छ ।

उनले अझै बालविवाहका घटनाहरू बाहिर नआएको पनि बताइन । उनले भनिन– लकडाउनका कारण बालबालिका फुर्सदिला भए । यसले बालविवाह, बालश्रम जस्ता घटनालाई बल मिल्यो ।

सिविन नेपाल धनगढीले दिएको तथ्यांक अनुसार प्रदेशमा बाल यौन हिंसामा १६ बालिका र एक बालक, बेचविखनमा तीन बालिका र पाँच बालिका परेको जनाइएको छ ।

सामाजिक विकास मन्त्रालयकी महिला विकास अधिकृत जयन्ती गिरीले मन्त्रालयले यस वर्ष चार जिल्लामा बालविवाह विरुद्धको अभियान सञ्चालन गर्ने कार्यक्रम रहेको बताइन । उनका अनुसार प्रदेशको बझाङ, अछाम, दार्चुला र बाजुरामा यो कार्यक्रम सञ्चालन गरिने छ । उनले भनिन– अहिले कोरोना भाइरसका कारण यी कार्यक्रम सञ्चालन गर्न सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार