२३ बैशाख २०८१, आईतवार

सञ्चार क्षेत्र आन्दोलित



धनगढी । कैलालीमा शृंखलावद्ध रुपमा सञ्चारकर्मी तथा सञ्चार गृहमाथि आक्रमण दोहोरिन थालेपछि कैलालीको सञ्चार क्षेत्र आन्दोलित भएको छ ।

पछिल्लो पटक (भदौं २६ गते) धनगढीस्थित दिनेश सञ्चार गृहमा दिउँसै १५/१६ जनाको हुलले न्युजरुममा प्रवेश गरी सञ्चारकर्मीहरूमाथि आक्रमण गरेको थियो ।

कैलालीमा धनगढी, टीकापुर, राजमार्ग लगायतका स्थानमा पछिल्ला दिनमा सञ्चारकर्मी तथा सञ्चार गृहमा आक्रमणका घटनामा बृद्धि भएको छ ।

नेपाल पत्रकार महासंघ, कैलालीको अगुवाईमा आइतबार सञ्चारकर्मीहरूले विरोध प्रदर्शन तथा कैलाली जिल्ला प्रशासन कार्यालय अगाडी सडकमा धर्ना र कोणसभा गरे ।

सञ्चारकर्मीहरू तथा सञ्चार गृहमा आक्रमणका घटना दोहोरिराख्दा समेत स्थानीय प्रहरी प्रशासनले घटनामा संलग्न दोषिहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउन उदासिनता देखाएको, राज्यले प्रेस स्वतन्त्रताप्रतिको सम्मान तथा संरक्षणमा गम्भीरता नदेखाएको, सञ्चारकर्मीहरूमाथिको असुरक्षामा बृद्धि भएको भन्दै महासंघ कैलालीले चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

विरोध र्यालीपछि कैलाली जिल्ला प्रशासन कार्यालय अगाडीको सडकमा भएको कोणसभामा वक्ताहरूले सञ्चार गृह तथा सञ्चारकर्मीहरूमाथि भएको आक्रमणका घटनामा संलग्न दोषिहरूलाई पक्राउ गरि कानूनी कारबाहीको दायरामा ल्याउन ढिलाई गरेकोमा प्रहरी प्रशासनप्रति खेद व्यक्त गरे ।

वक्ताहरूले प्रहरी प्रशासनले प्रेसमाथिको आक्रमणलाई हलुका ढंगले लिएकोमा भत्र्सना गर्दै तत्काल दोषिहरूलाई कानूनी कारबाहीको दायरामा नल्याए अझ कडा आन्दोलन गर्न बाध्य हुने बताए ।

कोणसभामा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा क्षेत्रीय संयोजक मीन बम, महासंघका पूर्व केन्द्रीय सदस्य तथा क्षेत्रीय संयोजक मनमोहन स्वार, प्रदेश अध्यक्ष अर्जुन शाह, पूर्व केन्द्रीय सदस्य दीलबहादुर छत्याल, जिल्ला अध्यक्ष जगत साउद, अकोरावका प्रदेश अध्यक्ष दीर्घराज उपाध्याय, महासंघका पूर्व जिल्ला अध्यक्ष भरत शाह, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष श्रवण देउवा, भीम चौधरी, उन्नती चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कोणसभाको सञ्चालन महासंघका जिल्ला सचिव मीन ठकुरीले गरेका थिए ।

यसअघि महासंघ कैलालीको सभाकक्षमा भएको एक बृहत भेलाले प्रसमाथिको आक्रमणका शृंखलावद्ध आक्रमणका विरुद्ध चरणवद्ध रुपमा आन्दोलन गर्ने, प्रेसमाथिको आक्रमणका घटनाहरूको स्थलगत अध्ययन अनुगमनका लागि महासंघको केन्द्रीय कार्यालयसंग मिसन टोली परिचालनका लागि अनुरोध गर्ने लगायतको निर्णय गरेको थियो ।

सञ्चारकर्मीहरूमाथिको आक्रमण दुःखद: नगरप्रमुख वड

यसैबीच, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले दिनेश सञ्चार गृहमाथिको आक्रमणको निन्दा गरेका छन् ।

आइतबार दिनेश सञ्चार गृहमा पुगेका नगर प्रमुख वडले सञ्चार गृहको न्युजरुममा प्रवेश गरेर पत्रकारहरूमाथि भएको आक्रमणको घटनाको निन्दा तथा भत्र्सना गरे । उनले भने– कुनै पनि समाचारमा चित्त नबुझेमा कानुनी उपचार खोज्ने थुपै्र बाटो हुदाहुदै पनि मिडिया हाउसमै पुगेर आक्रमण गर्नु कदापी उचित होइन । यो घटनामा संलग्न दोषीहरू उम्कीनु हुदैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार