२३ बैशाख २०८१, आईतवार

कोरोनामुक्तिको खुसीः पञ्चेश्वर गाउँपालिले विद्यालय सञ्चालन गर्ने



कञ्चनपुरमा भने समुदायस्तरमा कोरोना देखिन थालेको छ ।


बैतडी \ कोरोनामुक्त भएपछि बैतडीको पञ्चेश्वर गाउँपालिकाले विद्यालय सञ्चालन गर्ने तयारी सुरु गरेको छ ।

गत चैतमहिनादेखि पठनपाठन बन्द गरेर क्वारेन्टाइन बनाइएका विद्यालय सेनिटाईजर गरेर असोज १ गतेदेखि विद्यालय सञ्चालनको तयारी भएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।

बन्दाबन्दीको अवधिमा विद्यार्थीलाई पुस्तक र छात्रवृत्ति वितरण गरिए पनि पठन पाठन बन्द रहेको गाउँपालिका शिक्षा शाखा प्रमुख शिवराज कलौनीले बताए । शिक्षा शाखाका कलौनीले, शिक्षकलाई तलब खुवाउने काम पनि भइरहेको छ तर, विद्यार्थीले पढ्न पाएका छैनन् ।

असोज १ गतेदेखि वैकल्पिक विधिबाट पठनपाठन गर्ने कुरामा गाउँपालिले निर्णय गर्ला तर, अझैं पनि सम्पूर्ण कक्षा पूर्ववत् रुपमा सञ्चालन गर्न गाह्रो छ उनले भने ।

असोज १ गतेदेखि जोर बिजोर अर्थात १, ३, ५, ७ कक्षा वा विद्यार्थीको रोल नम्बरका आधारमा भौतिक दूरी कायम हुने किसिमले कक्षा सञ्चालन गर्ने बारे छलफल भइरहेको कलौनीले बताए ।

गाउँपालिका कोरोना मुक्त भए पनि सङ्क्रमणको जोखिम कायम भएकोले सजकता अपनाएर पठनपाठन हुने कलौनीले बताए ।

पञ्चेश्वर गाउँपालिकामा कुल ३५ वटा विद्यालय रहेका छन् । भारतसँग सीमा जोडिएको पञ्चेश्वरमा यसअघि सबैभन्दा बढी कोरोना सङ्क्रमित भेटिएका थिए । ती सबै निको भएर घर गइसकेको गाउँपालिकाले जानकारी दिएको छ ।

बैतडीका १० वटै स्थानीय तहमध्ये पञ्चेश्वर गाउँपालिकामा, दशरथचन्द नगरपालिका, पुरचौडी नगरपालिका, पाटन नगरपालिका, सुर्नया गाउँपालिका, डिलासैनी गाउँपालिका,दोगडाकेदार गाउँपालिका र शिवनाथ गाउँपालिका बैतडीका आठ स्थानीय तह कोरोना मुक्त भएको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ ।


समुदायस्तरमा देखिन थाल्यो कोरोना
यसैवीच कञ्चनपुरमा समुदायस्तरमा कोरोना देखिन थालेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका, शुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका र बेल्डाँडी गाउँपालिकामा समुदायस्तरमा कोरोना देखिन थालेको हो ।

शुरुमा बेल्डाँडी गाउँपालिकामा तीन जनामा समुदायस्तरमा कोरोना देखिएको थियो । त्यसपछि शुक्लाफाँटामा तीनजना, कृष्णपुरमा एकजना, भीमदत्तमा आठजना गरी सत्रमा कोरोना पोजेटिभ देखिएको छ । जसमध्ये कृष्णपुरमा एकजना, पुनर्वासमा चारजना लालझाँडीमा एकजना गरेर १३ जना घरमै आईसोलेसनमा बसिरहेका छन् ।


हालसम्म आठ हजार ७२६ जनाको कोरोना परीक्षणका लागि स्वाव संकलन गरिएकोमा आठ हजार ४२८ जनाको नतिजा आइसकेको छ । जसमा ७०५ मा कोरोना देखिएकोमा ६७९ जना निको भएर घर गइसकेका स्वास्थ्य कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रतिमा महताले बताइन ।


उहाँले दैनिक १०० देखि २०० जनाको हाराहारीमा पीसीआर परीक्षणका लागि स्वाव संकलन गर्ने गरिएको बताउनुभयो । संकलन गरिएको स्वावलाई पीसीआर परीक्षणका लागि धनगढी पठाइने गरेको र नतिजा दुई दिनमै आउने गरेको समेत महताले बताइन यो सचाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार