२३ बैशाख २०८१, आईतवार

चेक रकमभन्दा कम ब्यालेन्स भएमा जरिवाना



धनगढी \ नविल बैंक धनगढी शाखाले ग्राहकको चेकमा उल्लिखित रकम भन्दा खातामा कम रकम मौज्दात (ब्यालेन्स) भएमा खाताबाट जरिवाना लिन थालेको छ ।

ग्राहकले चेक जारी गरेकोमा मितिमा खातामा पर्याप्त रकम भए पनि बैंकमा चेकको भुक्तानी लिन जाँदा कम ब्यालेन्स भएको भन्दै बैंकले खाताबाटै जरिवाना लिने गरेको बताइएको छ ।

बैंकले मोबाइल बैंकिङ सेवावापतको चार्ज लिएकोले चेक भुक्तानी लिने मितिमा खातामा कम रकम रहने गरेको छ ।

खातामा कम ब्यालेन्स भएका ग्राहकको चेक लिएपछि बैंकका कर्मचारीहरुले एक हजार रुपैयाँ जरिवाना लिएर चेक फिर्ता गर्ने गरेको एक जना ग्राहकले बताए ।

नविल बैंक धनगढी शाखा व्यवस्थापकले नेपाल राष्ट्र बैंकले ग्राहकको बैंक खातामा रहेको रकमभन्दा बढि रकमको चेक जारी गर्नु अपराध भएको घोषणा गर्दै सो कार्य रोक्न कडाई गरेकोले बैंकको सिस्टमबाटै जरिवाना रकम लिइएको बताए । उनका अनुसार यो व्यवस्था पहिलेदेखि नै लागू भइसकेको थियो ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा सूचना अधिकारी डाक्टर गुणाकर भट्टले सम्बन्धित बैंकमा चेकको भुक्तानी लिँदा तत्काल जरिवाना लिन नहुने बताए । प्रवक्ता डाक्टर भट्टले बैंकले सेवाग्राहीलाई अर्को चेक ल्याउने वा स्पष्टीकरण दिने मौका दिनुपर्ने बताए ।

नेपाल राष्ट्र बैंकका सुनासो शाखाका अधिकृत दिपेन्द्र बस्नेतले कुनै पनि बैंकले चेक लिएर सेवाग्राहीलाई कुनै मौका नै नदिई जरिवाना लिएको रकम फिर्ता गर्नुपर्ने बताए ।

उनले ग्राहकको बैंक खातामा रहेको ब्यालेन्स भन्दा बढि रकमको चेक जारी भएमा खातावालालाई पर्याप्त व्यालेन्स पु¥याउन वा व्यालेन्स अनुसारको चेक जारी गर्न अवसर दिनु पर्ने बताए ।

ग्राहकले खातामा रहेको रकमभन्दा बढिको चेक साट्न पटकपटक गएमा वा खातामा कम ब्यालेन्स भएर पनि चेक क्लियरिङमा पठाएमा एक हजार रुपैयाँ जरिवाना लिने व्यवस्था छ ।

तर, सम्बन्धित बैंकमै गएर चेक साट्न जाँदा खातामा कम व्यालेन्स भएमा बैंकले व्यालेन्स नपुगेको जानकारी दिई चेक फिर्ता गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार