२ जेष्ठ २०८१, बुधबार

बस्ती स्थानान्तरणको माग गर्दै मुख्यमन्त्री समक्ष ज्ञापनपत्र



धनगढी । कैलालीको चुरे गाउँपालिकाका पहिरो पिडीत परिवारलाई बस्ती स्थानान्तरण गर्नुपर्ने माग गर्दै मंगलबार ज्ञापनपत्र बुझाइएको छ ।

गाउँपालिकाका अध्यक्ष धनबहादुर रोकामगरले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष ज्ञापनपत्र बुझाएका हुन् ।

चुरे गाउँपालिकाका ६ वटै वडामा पहिरोका कारण दर्जनौ बस्तीका स्थानीय बासिन्दाहरु पहिरोबाट विस्थापित बन्न पुगेकाले उनीहरुलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाइ दिन गाउँपालिकाका अध्यक्ष रोकामगरले मुख्यमन्त्री भट्ट समक्ष आग्रह गरे ।

गत साउनमा परेको अबिरल बर्षाका कारण चुरे गाउँपालिकाका दर्जनौ बस्तीहरु पहिरोको जोखिममा रहेकाले बस्न लायक नभएकोले सो बस्तीहरु सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने देखिएको उनले बताए ।

चुरे गाउँपालिकाका ६ वटै वडाका १ सय ८८ घरधुरी पहिरोको उच्च जोखिममा रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । १ सय ८८ वटा घरधुरी मध्ये तत्काल १ सय २८ घरधुरी तत्काल स्थानान्तरण गर्नुपर्ने देखिएको जनाइएको छ ।

गत साउन १४ गते गएको पहिरोका कारण गुणी र पट्रेनी गाउँका झण्डै ३६ घरधुरी विस्थापित बन्न पुगेका छन् । उनीहरुमध्ये पट्रेनी गाउँका २८ घरधुरी परिवार चुरे ५ स्थित भीमदत्त राजमार्गको बेल्चाप्लान सडक किनारामा बस्दै आएका छन् ।

ज्ञापनपत्र बुझाउने क्रममा सुदूरपश्चिम प्रदेशका पूर्ब सामाजिक विकास मन्त्री दीर्घ सोडारीले पहिरो पीडित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक देखिएको मुख्यमन्त्री भट्ट समक्ष ब्रिफिङ गरेका थिए । उनले सुदूरपश्चिम प्रदेशका बाढी, पहिरो पीडित परिवारलाई स्थानान्तरण गर्न तीन वटै तहका सरकार लाग्नु पर्ने देखिएको बताए ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री भट्टले अहिले सुदूरपश्चिमका सबै जिल्लाबाट बाढी, पहिरो प्रभावित परिवारको तथ्यांक मुख्यमन्त्री कार्यालयमा आइरहेकोले केही दिनभित्रै संघीय सरकारलाई सो तथ्यांक पठाइने जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, उद्योग वन बातावरण तथा पर्यटन मन्त्रालयमा पनि चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोकामगर, वडा नं. १ का वडाध्यक्ष हुकुम बोहरा, वडा नं. ५ का वडाध्यक्ष नरबहादुर तामाङ लगायतको टोलीले पहिरो पीडितहरुको बस्ती स्थानान्तरणका लागि ज्ञापनपत्र बुझायएको छ ।

#churegaupalika #kailali #cm #TrilochanBhatta #anumodankhabr

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार