२३ बैशाख २०८१, आईतवार

मोहन्याल रुख कटान काण्ड : मजदुर थुनुवामा काठ चिराउने चन्द दाजुभाइ बचाइदै




बौनिया । भदौ १७ गते बिहान भरुवा बन्दुक सहित जङ्गलमा काठ चिर्दै गरेको अवस्थामा पक्राउ परेकाहरुले बयान फेरेका छन् ।

मोहन्याल गाउँपालिका ६ र लम्कीचुहा ६ वडामा रहेको देउराली सामुदायिक वनको सिमानामा रहेको खहरे खोलामा पर्ने राष्ट्रिय वनको क्षेत्रभित्र सालको काठ चिरान गर्दै गरेको अवस्थामा पक्राउ परेका मोहन्याल गाउँपालिका‐६ बादेगौजाका ४३ वर्षीय नैनबहादुर सिँजालीमगर र ३६ वर्षका तुलबहादुर घर्तिमगरले बयान फेरेका हुन ।

उनीहरुलाई सब डिभिजन वन कार्यालय वर्दगोरिया र देउराली सामुदायिक वनबाट गएको आठ जनाको संयुक्त टोलीले पक्राउ गरेको थियो ।

पक्राउ परेका बेला नैनबहादुरले लम्कीचुहा नगरपालिका ६ बस्ने गोविन्द चन्द र मिलन चन्दले ८० रुपैयाँ क्यूफिट दिनेगरी आफूहरुलाई ज्यालादारीमा काममा लगाएको बताएका थिए । पेश्की स्वरुप प्रतिव्यक्ति दुई हजारका दरले चार जनालाई सुरुमै आठ हजार चन्दले आफूहरू दिएको समेत बताएका थिए ।

तर नैनबहादुर र तुलबहादुरले सो काठ आफ्नै घर बनाउनका लागि काटेको र बन्दुक पिकनिक खान आएकाहरुको हो भन्दै बयान फेरेका हुन ।

पक्राउ परेकाहरुले सव डिभिजन बन कार्यालय बौनियाका वन कार्यालयका कर्मचारीहरूको जुक्ती अनुसार बयान फेरेको आरोप लागेको छ ।

सव डिभिजन वन कार्यालयका प्रमुख कृष्णबहादुर बोहराले मुचुल्कामा भरुवा बन्दुक सहित जङ्गलमा काठ चिर्दै गरेको अवस्थामा दुई जना फेला परेको, १४ फुटका ९ थान सालको कडी, काठ चिर्ने ३ वटा आरा,२ बञ्चरा बरामद गरिएको विवरण रहेको जानकारी दिए ।

तर, पक्राउ परेका मगरको सुरुवाती बयान अनुसार काठ चिराउन लगाउने चन्द दाजुभाइको नाम भने कतै उल्लेख छैन ।

मौजुदा कानून अनुसार कुनै पनि अपराध गर्ने र गराउनेलाई दोषी ठहराइन्छ । जसअनुसार भरुवा बन्दुक सहित काठ चिर्न लागेका नैनबहादुर सिँजाली मगर र तुलबहादुर घर्तिमगर दोषी त हुन नै, उनीहरूलाई काठ चिर्न ज्यालादारीमा लगाउने गोबिन्द चन्द र मिलन चन्द पनि दोषी हुनुपर्ने हुन्छ ।

तर, वनका कर्मचारीहरूले भने चन्द दाजुभाइलाई उन्मुक्ति दिने गरेर मुचुल्का मात्रै बनाएनन् बयान फेर्न सिकाएको लगाएको आरोप स्थानीयले लगाएका छन् ।

अनुमोदन खबर डटकमले उनीहरु थुनिएको ठाउँमा गएर कुरा गर्दा पनि उनीहरुले चन्दहरुको काठ होइन भनेका थिए । तर चन्द दाजुभाइसँग राम्रो उठबस रहेको चै स्वीकार गरे ।

सव डिभिजन वन कार्यालय बौनियाले बरामद गरिएको हतिहयारलाई बेवारिसे बनाएको समेत वन स्रोतले जनाएको छ ।

हतियारलाई वेवारिसे बनाउने, काठ चिर्न ज्यालादारीमा लगाउने गोविन्द चन्द र मिलन चन्दको नाम मुचुल्कामा उल्लेख नगर्ने, र सामान्य मुद्दा बनाएर सो घट्नाको टुंगो लगाउने सहमतिमा देउराली उपभोक्ता समुहका पदाधिकारीलाई जनही पाँच हजार नगद रुपैयाँ दिने प्रस्ताव वन कर्मचारी मार्फत उपभोक्ता समुहका अध्यक्ष ललित कामी कहाँ पुगेको स्रोेतले दावी गरेको छ ।

पुरै मुद्दा सव डिभिजन वन कार्यालयमा मिलाउनका लागि दुई वटा मुचुल्का तयार गर्द पाँच लाख रुपैयाँमा वन कर्मचारी मार्फत प्रस्ताव समेत आएको पनि स्रोतले दावी गरेको छ ।

काठकाण्डका आरोपी मिलन चन्दको प्रतिक्रिया लिनको लागि उनको मोबाइलमा पटकपटक सम्पर्क गर्दा मोबाइल अफ रहने गरेको छ ।

चन्दको लम्की चुँहा नगरपालिका ‐६ बाधमारामा काठ लुकाउन बनेको काठकै नयाँ घर पनि काठचिरान भएको पाँच किलोमिटर टाढा भेटिएको छ । त्यो भेटिएपछि र मुद्धा मिलाउनका लागि उनी सम्पर्कविहिन भएर बसेको उनका केही निकटस्थले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार