२ जेष्ठ २०८१, बुधबार

भरुवा बन्दुक सहित जंगलमा काठ चिर्दै गरेको अवस्थामा २ पक्राउ ३ जना फरार



लम्की । भरुवा बन्दुक सहित जंगलमा काठ चिर्दै गरेको अवस्थामा दुई जना पक्राउ परेका छन भने तीन जना फरार रहेका छन् । सब डिभिजन वन कार्यालय वर्दगोरिया र देउराली सामुदायिक वनबाट गएको आठ जनाको संयुक्त टोलीले भदौ १७ गते बिहान भरुवा बन्दुक सहित जंगलमा काठ चिर्दै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरेको हो ।

मोहन्याल गाउँपालिका ६ नम्बर वडा र लम्कीचुहा नगरपालिका ६ वडामा रहेको देउराली सामुदायिक वनको सिमानामा रहेको खहरे खोलामा पर्ने राष्ट्रिय वनको क्षेत्रभित्र सालको काठ चिरान गर्दै गरेको अवस्थामा मोहन्याल गाउँपालिका ६ बादेगौजाका ४३ बर्षिय नैन बहादुर सिजाली मगर र ३६ बर्षका तुल बहादुर घर्तिमगर लाई पक्राउ गरेको हो । ३ जना फरार रहेको सब डिभिजन वन कार्यालय वर्दगोरियाका राम बहादुर रावलले बताए ।

सब डिभिजन वन कार्यालय वर्दगोरियाका प्रमुख सहायक वन अधिकृत कृष्ण बहादुर बोहराले पक्राउ परेका दुई जनालाई कानून बमोजिम कारबाही गरिने बताए । घटनाको अनुसन्धान भइरहेकोले अहिलनै धेरै बोल्न नमिल्ने भन्दै फरार रहेका तीन जनाको खोजी कार्य समेत भइरहेकोे उनले बताए ।

घटनास्थलबाट तयारी अवस्थामा राखिएको दुई थान भरुवा बन्दुक, १४ फुटका ९ थान सालको कडी, काठ चिर्ने तीन वटा आरा, दुई बञ्चरो बरामद गरिएको रावलले जानकारी दिएका छन् । तयारी अवस्थामा राखिएको भरुवा बन्दुक निष्कृय पारेर नियन्त्रणमा लिएको बताएको छ ।

विशेष सूचनाको आधारमा बिहान ३ बजे गएको टोलीले ६ बजे घटना स्थलमा पुगेर पक्राउ गरेको हो । पक्राउ परेका नैन बहादुर सिजाली मगरले लम्कीचुहा नगरपालिका ६ मा बस्ने गोविन्द चन्दले आफ्नै घरमा आएर ८० रुपैया क्यूफिट दिनेगरी ज्यालादारीमा काममा लगाएको बताए । चन्दले पेश्की स्वरुप प्रतिव्यक्ति दुई हजारका दरले चार जनालाई सुरुमै आठ हजार दिएको मगर बताउँछन् ।

जंगलमै खान बस्नको व्यवस्था गरेर हामिलाई काम गर्न लगाए । भदौ १४ गतेदेखि जंगलमा काठ चिरान गर्न लागेको तुल बहादुर घर्तिमगरले बताए । काठ चिरान गर्न लगाउने गोविन्द चन्द विबर्तमान देउराली सामुदायिक वनको ७ बर्षसम्म निरन्तर अध्यक्ष समेत रहेको बताइएको छ । पूर्वअध्यक्ष समेत रहेका चन्द काठ तस्करीमा लाग्नु गलत भएको र उनलाई कारबाही हुनुपर्ने माग उपभोक्ताहरुले गरेका छन् ।

देउराली सामुदायिक वनका बर्तमान अध्यक्ष ललित कामीले काठ चिरान गर्ने घटना स्थलमा पुग्दा काठ चिरान गर्ने र खाना बनाउने तयारी भइरहेको बताए । दुई जनालाई वन कर्मचारीले नियन्त्रणमा लिएको र तीन जना भागेकोले समात्न नसकेको उनले बताए । नियन्त्रणमा रहेका दुइजना लाई सोधपुछ गर्दा गोन्दि चन्द र उनका भाई मिलन चन्द्रले काठ चिराउन लगाएको भनेर जवाफ दिएको ललित कामीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार