२० बैशाख २०८१, बिहीबार

कोरोनाले मिडियामा पारेको असर अध्ययन गर्न उच्चस्तरीय समिति गठन



संंयोजकमा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्याल

धनगढी । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कोरोनाले मिडिया क्षेत्रमा पारेको असरबारे अध्ययन गर्न न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालको संयोजकत्वमा नौ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ ।

गत साउन २६ को सञ्चार मन्त्रीस्तरीय निर्णयानुसार गठित सो समितिलाई अध्ययन गरेर प्रतिवेदन बुझाउने जिम्मेवारी समेत दिएको संयोजक अर्यालले बताए ।

सो समितिमा त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख चिरञ्जीवी खनाल, सूचना तथा प्रसारण विभागका महानिर्देशक किरणराज शर्मा, नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य, मिडिया सोसाइटीका अध्यक्ष शुभशङ्कर कँडेल, ब्रोडकाष्टिङ एसोसिएशन अफ नेपालका अध्यक्ष चन्द्र न्यौपाने, सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष सुवास खतिवडा, नेपाल विज्ञापन सङ्घका अध्यक्ष रवीन्द्रकुमार रिजाल, र सदस्यसचिवमा मन्त्रालयका उपसचिव सङ्गीता ओझा रहेको संयोजक अर्यालले बताए ।

उनले भने, समितिले श्रमजीवी पत्रकार ऐन, २०५१ अनुसार सञ्चार प्रतिष्ठानहरुको श्रमजीवी पत्रकारको अवस्था बारे समेत बिस्तृतरुपमा बुझ्ने छ । साथै कोभिड १९ ले सञ्चार गृहमा पारेको प्रभाव, कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि सञ्चार गृहले दिएको योगदान,श्रमजीवीहरु सेवाबाट निस्कासन भएको, तलव पाए नपाएको जस्ता विषयमा एक महिना लगाएर अध्ययन गरेर प्रतिवेदन दिइने छ संयोजक अर्यालले बताए ।

हामीले आमसञ्चार क्षेत्रका लागि सरकारले अव गर्नुपर्ने कामबारे पनि सुझाव दिने छौ अनुमोदन खवरसंगको कुराकानीमा उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार