१५ बैशाख २०८१, शनिबार

धनगढीमा रहेको महिला आइसोलेसन तथा होल्डिङ सेन्टरलाई खाद्यान्न सहयोग



धनगढी । धनगढीमा रहेको महिला आइसोलेसन तथा होल्डिङ सेन्टरलाई नेपाल-भारत मैत्री संघ कैलाली शाखाले खाद्यान्न सहयोग गरेको छ । 

धनगढी उपमहानगरपालिकाद्वारा संचालित आइसोलेसनलाई नेपाल-भारत मैत्री संघले करिब ३२ हजार रुपैया बराबरको खाद्य सामाग्री हस्तान्तरण गरेको उपमहानगरपालिकाका कोभिड-१९ फोकल पर्सन तथा वडा नम्बर ८ का अध्यक्ष नारायण बरालले बताए ।

नेपाल-भारत मैत्री संघका अध्यक्ष हरिशंकर ठाकुरले कोरोना संक्रमित महिलाहरुका लागी खाद्य सामाग्री दिन पाउदा अत्यन्तै हर्षित भएको बताए । उनले कोरोना संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरे । 

कोरोनाबाट गर्भवती र केटाकेटी बढि जोखिममा परेकोले महिला आइसोलेसन तथा होल्डिङ सेन्टरको अवधारणा अनुरुप देशकै नमुना आइसोलेसन बनाउन पाउदा निकै खुशी लागेको अभियन्ता दीपक उपाध्यायले बताए । उनले आइसोलेसनमा रहेका बेला गर्भवतीलाई पोषण खानाका साथै हेरचाहको निकै आवश्यकता पर्ने भएकोले आइसोलेसनमा सम्पुर्ण ब्यबस्था रहेको बताए । 

बि पोलिटेक्निक ईन्स्टिच्युटलाई तिन महिनाको लागि भाडामा लिएर आइसोलेसन तथा होल्डिङ सेन्टर संचालन गरिएको अभियन्ता उपाध्यायले बताए । उनले आवश्यकता अनुसार समयावधि थप गर्दै लैजाने बताए ।

कोरोना जित्दै १२ जना यसअघि नै डिस्चार्ज भइ सकेका छन भने अहिले आइसोलेसनमा १७ जना महिला र एकजना बच्चा सहित ३ जना हेरालु रहेको उपमहानगरपालिकाका कोभिड-१९ फोकल पर्सन बरालले बताए ।

विभिन्न संघ सस्थाहरुको सहयोगमा संचालित आइसोलेसन तथा होल्डिङ सेन्टरलाई कैलाली अस्पतालले मेडिकल सपोर्ट गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार