१६ बैशाख २०८१, आईतवार

प्रदेशमा क्वारेन्टाइनमा तीन हजार बढी



कुन जिल्लामा कति ?

धनगढी । सुदूरपश्चिमका पहाडी जिल्लामा अहिले पनि क्वारेन्टाइनको व्यवस्थापन गरिएको छ तर, प्रदेशको बढी जनसंख्या रहेको कैलाली र कञ्चनपुरमा भने भारतबाट घर फर्केकालाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको छैन ।

प्रदेशमा पाँच जना कोरोना संक्रमित देखिदा सबै स्थानीय तहहरुले भारतबाट आउनेहरुलाई सिधै घर नपठाई क्वारेन्टाइनमा राखिरहेको थियो । सरकारले लकडाउन अन्त्य गरेसंगै प्रदेशका केही स्थानीय तहहरुले ती क्वारेन्टाइनलाई पनि हटाएको थियो ।

प्रदेशकै एकमात्र उप–महानगरपालिका धनगढीका प्रवक्ता सन्तोष मुडभरीले अहिले सबै क्वारेन्टिन बन्द भएको जानकारी दिए । उनले विद्यालयमा क्वारेन्टिन सञ्चालन गर्न सक्ने अवस्था नरहेको भन्दै बैकल्पिक स्थानको खोजी भईरहेको दावी गरे ।

धनगढी उप–महानगरपालिकाले क्वारेन्टिन सञ्चालन गर्न नसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीलाई पत्र पठाएको छ ।

विद्यालयहरु सञ्चालन हुने भएकाले क्वारेन्टिन सञ्चालन गर्न नसकिने भन्दै उप–महानगरपालिकाले साउन ३२ गते प्रशासनलाई पत्र पठाएको हो ।

धनगढीमात्र होइन अहिले कैलालीका अधिकाँस स्थानीय तहमा क्वारेन्टाइनको व्यवस्था छैन ।
सुदूरपश्चिमका पहाडी जिल्ला डोटी, अछाम लगायतका जिल्लामा भने अहिले पनि भारतबाट आउने व्यक्तिहरुलाई क्वारेन्टाइनमै राखिने गरेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार अहिले प्रदेशभरी एक हजार ५४ महिला र दुई हजार चार सय आठ पुरुष गरी तीन हजार चार सय ६२ जना क्वारेन्टाइनमा रहेका छन । प्रदेशमा सबैभन्दा बढी बझाङमा चार सय ७३ महिला र आठ सय १६ पुरुष गरी एक हजार दुई सय ८९ जना क्वारेन्टाइनमा रहेका छन भने सबैभन्दा कम दार्चुलामा ९ महिला र ४९ पुरुष गरी ५८ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

प्रदेशको कैलालीमा ३६ महिला र ८१ पुरुष गरी एक सय १७ जना, कञ्चनपुरमा एक सय आठ महिला र दुई सय ७६ पुरुष गरी तीन सय ८४, डडेल्धुरामा २५ महिला र एक सय ३२ पुरुष गरी एक सय ५७ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

यस्तै, डोटीमा एक सय ४५ महिला र चार सय ७८ पुरुष गरी छ सय २३, अछाममा एक सय ६६ महिला र तीन सय ६१ पुरुष गरी पाँच सय २७, बैतडीमा ५१ म्हिला र एक सय ७६ पुरुष गरी दुई सय २७ र बाजुरामा ४१ म्हिला र ३९ पुरुष गरी ८० जना क्वारेन्टाइनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार