१६ बैशाख २०८१, आईतवार

प्रदेशमा सात सय बढी सक्रिय संक्रमित



कुन जिल्लामा कति ?

धनगढी । भारतबाट नेपालीहरु प्रवेश गर्ने क्रमसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको दर बढ्दै गएको छ । प्रदेशमा अहिलेसम्म पाँच हजार एक सय ३५ जनामा कोरोना संक्रमण देखिइसकेको छ ।

पाँच हजारमध्ये चार हजार तीन सय ७४ जना निको भएर घर फर्किसकेका छन भने सात सय ५२ जना अझै प्रदेशमा सक्रिय संक्रमित रहेका छन । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार सबैभन्दा बढी सक्रिय संक्रमित डोटीमा रहेका छन । डोटीमा अहिलेसम्म आठ सय ४४ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये अहिले दुई सय ६८ जना सक्रिय कोरोना संक्रमित रहेका छन भने पाँच सय ७६ जना निको भएर घर फर्किसकेका छन ।

सबैभन्दा बढी कोरोना संक्रमित रहेको कैलालीमा अहिले एक सय ५८ जनामात्र सक्रिय संक्रमित रहेका छन । कैलालीमा अहिलेसम्म एक हजार चार सय ६० जनामा कोरोना संक्रमण देखिएकोमा एक हजार दुई सय ९८ जना निको भएर घर फर्किसकेका छन । कैलालीमा अहिलेसम्म कोरोना संक्रमणका कारण चार जनाको मृत्यु भएको छ ।

यस्तै, कञ्चनपुरमा छ सय २१ जना कोरोना संक्रमण पुष्टि भएकोमा अहिले ४१ जना, डडेल्धुरामा तीन सय नौ मा कोरोना संक्रमण पुष्टि भएकोमा १० जना, अछाममा सात सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ८२ जना सक्रिय संक्रमित रहेका छन ।

बैतडीमा तीन सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा पाँच जना, बझाङमा दुई सय ८५ जनामध्ये एक सय ७३, बाजुरामा चार सय ५२ मध्ये आठ र दार्चुलामा ४३ मध्ये सात जना सक्रिय संक्रमित रहेका छन ।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अछाममा एक, बझाङ र बाजुरामा दुई/दुई जना गरी प्रदेशमा हालसम्म नौ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार