१० श्रावण २०८१, बिहीबार

रामारोशनका बाढीपीडितलाई राहत वितरण



– सरकारले राहत र पुर्नस्थापना गर्छ गृहमन्त्री थापा

– पुर्नस्थापना पहिलो आवश्यक्ता हो मन्त्री भट्ट

-समस्या समाधानका लागि प्रधानमन्त्रीसित पनि कुरा भएको पूर्वउपप्रधानमन्त्री रावलको भनाइ

अछाम/ गृहमन्त्री रामबहादुर थापा बादल सहितको टोलीले गत बुधबार बाढीका कारण २२ घर सहित १७ जना वेपत्ता भएको रामारोशन गाउँपालिका वडा नम्बर ५ सैनीबजार क्षेत्रको निरिक्षण गरेको छ ।

आज नेपाली सेनाको हेलिकप्टरबाट घटनास्थल सैनीबजार पुगेका गृहमन्त्री थापाले पीडितलाई सम्वोधन गर्दे राहत, पुर्नस्थापना र पुर्ननिर्माणमा सरकार तयार रहेको दावी गरे ।

उनले भने, मृतक र वेपत्ता भएका व्यक्तिको परिवारलाई संघ र प्रदेशबाट राहत रकम उपलब्ध हुनेछ । उनले घरबार विहिनको घर बनाइ दिने आश्वासन पनि दिए । जनताको सरकार भएकोले जनताका पीर, दुखमा साथ दिन तत्पर रहेको दावी पनि उनको थियो ।

देशभरमा विपदले गर्दा ठूलो जनधनको क्षति भएकाले अछाम सहितका ठाउँको उचित सम्बोधनका लागि सरकार तयार छ र हामी लागिरहेका छौं उनले भने मन्त्रीमण्डलले त्यस बारेको निर्णय गरिसकेको छ ।

उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टले बाढीपीडित परिवारलाई राहत र पुर्नस्थापना पहिलो आवश्यकता भएको भन्दै सरकार त्यतै केन्द्रीत रहेको बताए ।

नेकपाका स्थायी समिति सदस्य, सुदूरपश्चिम इन्चार्ज तथा सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य भीमबहादुर रावलले सरकारले स्थानीयका समस्याको दीर्घकालिनरुपमा समाधान गर्नु पर्ने बताए । उनले भने केही समस्या तत्कालै समाधान गर्नुपर्छ । पूर्वउप्रधानमन्त्री समेत रहेका रावलले अछामको समस्याका बारेमा प्रधानमन्त्रीसँगै पनि कुरा भएको भइरहेको बताए ।

साथै रावलले तत्काल मृतकका आफन्तलाई किरिया खर्च स्वरुप एक लाख उपलब्ध गराउनुका साथै राहतका सामाग्री समेत हस्तान्तरण गरे ।
गृहमन्त्री थापाको टोलीमा राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवर र तारामान स्वाँर, प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्याय, प्रहरी प्रमुख डिएसपि योगेन्द्रसिंह थापा लगायत सहभागी थिए ।

स्थानीयले पुर्नस्थापना, सडक, पुल, सञ्चारको सहजता बनाइदिन गृहमनत्रीको टोलीसँग अनुरोध गरेका थिए । रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर बहादुर साउँद भाष्करले गृहमन्त्री थापालाई सात बुँदे माग पत्र समेत दिएका थिए । सो अवसरमा बाढीपहिरो पीडितका लागि नेपाल रेडक्रस सोसाइटी र सुदूरपश्चिमेली समाजले खाद्यन्न, त्रिपाल, लत्ता कपडा सहयोग गरेर हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार