१६ बैशाख २०८१, आईतवार

राहत सहित गृहमन्त्री वादल, मन्त्री भट्ट र सांसद भीम रावल अछाम प्रस्थान



धनगढी । काठमाडौबाट बाढी पीडितहरुका लागि राहत सामग्री लिएर गृहमन्त्री रामबहादुर थापा बादल सहितको टोली आज अछामको रामारोशन गाउँपालिका गएको छ ।

गृहमन्त्रीसहितको टोली शुक्रबार बिहान नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौंबाट अछामतर्फ गएको हो । सो टोली सर्खेतमा अवतरण गर्ने र सुर्खेतबाट एमआई–१७ हेलिकोप्टरमार्फत अछाम पुग्ने गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

गृहमन्त्रीको टोलीमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, नेकपा सुदूरपश्चिम इन्चार्ज एवम् सोही क्षेत्रका सङ्घीय संसदका सदस्य भीमबहादुर रावल, सांसदहरु शेरबहादुर कुँवर र तारामान कुँवर, गृहमन्त्रीका विज्ञ सल्लाहकार सूर्य सुवेदी ‘पथिक’, गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा.इन्द्रजित राई, विपद जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख अनिल पोखरेललगायत छन् ।

अछाम लगिएका राहत सामग्रीहरु धेरैजसो नेपाल रेडक्रस सोसाइटीले उपलब्ध गराइदिएको छ । नेता भीमबहादुर रावलले पनि ११ वटा त्रिपालको व्यवस्था गरेका छन् । एक हजार ५५ किलो राहत सामग्रीमा खाद्यान्न, भाँडाकुँडा, त्रिपाललगायतका सामग्री छन् ।

अछामको रामारोशन गाउँपालिका–५ कैलाश खोलामा गत बुधबार आएको बाढीले स्थानीय सैनीबजार बगाउँदा छ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता छन् । बाढीपहिरोले रामारोशनका दर्जनौ परिवार घरवार विहिन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार