४ जेष्ठ २०८१, शुक्रबार

थरुहटको पूर्व घोषित विरोध कार्यक्रम स्थगित



धनगढी । थरुहट थारुवान राष्ट्रिय मोर्चाले कोभिड–१९ का कारण पूर्व घोषित संघर्षका सबै कार्यक्रम स्थगित गरेको छ ।

मोर्चाले बिहिबार एक विज्ञप्ती मार्फत कोभिड–१९ महामारीको कारण मुलुकमा भईरहेको बन्दाबन्दी र संक्रमणबाट हुन सक्ने भयावह स्थितिलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्मका लागि मिडियाबाट भर्चुअल संवाद छलफल गर्ने गरि स्थगित गरेको हो । यसअघि मोर्चाले साउन २५ गतेदेखि पछिल्लो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको मोर्चाले कोभिडकै बीचमा आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएको हो ।

शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मोर्चाका संयोजक लक्ष्मण थारुले भनेका थिए, ‘कोभिडकै कारण कुनै कार्यक्रम अब रोक्दैनौं । न्यायको आन्दोलनमा कोभिड बाधक बन्दैन । हाम्रो न्यायिक आन्दोलनलाई नजरअन्दाज गरेको सरकारको लागि हामी कोठाभित्र बसिदिनुपर्ने ? अब हुँदैन । राज्यविरुद्ध असहयोग आन्दोलनलाई तीब्र पार्छौं ।’

मोर्चाले टीकापुर घटनामा मुछिएर जेल जीवन भोगिरहेका सांसद रेशम चौधरीसहित ११ जनालाई रिहाइको माग गर्दै आन्दोलनको घोषणा गरेको थियो । मोर्चाले ३ महिनाभित्र आफनो जेलबन्दीलाई रिहाइ नगरिए प्रधानमन्त्री केपी शर्मा ओली र बहालवाला मन्त्रीहरूलाई थरुहट क्षेत्रमा प्रवेश निषेध गर्नुको साथै सामाजिक बहिष्कार समेत गर्ने मोर्चाका संयोजक थारुले चेतावनी दिएका थिए ।

मोर्चाले आफनो पछिल्लो संघर्षको कार्यक्रम अन्तर्गत साउन २५ गते प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको थियो । भदौ २ गते मानवअधिकार तथा नागरिक अगुवासँग धनगढीमा बृहत् अन्र्तक्रिया गर्ने जनाएको थियो । टीकापुर घटना भएको भदौ ७ गतेका दिनलाई टीकापुर थरुहट विद्रोह दिनको रुपमा स्मरण गर्दै देशव्यापी रुपमा विरोधसभा गर्ने भएको छ भने भदौ ८ गतेको दिनलाई टीकापुरमा भएको थारुहरूको घर, पसल, व्यावसायिक केन्द्र, सञ्चार गृहमा भएको आगजनी, तोडफोड, लुटपात भएको घटनालाई स्मरण गर्दै कालोदिनको रुपमा मनाउने जनाएको थियो ।

संविधान जारीको असोज ३ गतेको दिन थरुहट मोर्चाले संविधानमा विभेदकारी व्यवस्था उल्लेख गरेको भन्दै त्यस्ता व्यवस्था उल्लेखित धाराहरू जलाउने चेतावनी समेत दिएको थियो ।

थरुहट मोर्चाले १० जोड १ प्रदेश सहितको पहिचान सहितको संघीयता हुनुपर्ने माग राख्दै आएको छ । २०७२ भदौ ७ गते थरुहट आन्दोेलनकारी र प्रहरीबीच टीकापुरमा दोहोरो झडप हु“दा टीकापुर घटना घटेको हो । घटनामा एक नाबालकसहित ८ सुरक्षाकर्मीको ज्यान गएको थियो ।

टीकापुर आन्दोलन संस्मरण–२०२०

टीकापुर घटनाको चिरफार गर्ने उद्देश्यले बिहिबारदेखि ‘टीकापुर आन्दोलन संस्मरण–२०२० ख्याल बगाल’ कार्यक्रम गरिएको छ ।

थारु पत्रकार संघ नेपाल र ख्याल बगालको आयोजनामा भर्चुअल जुम क्लाउड र फेसबुक लाइभमार्फत बहस तथा छलफल शनिबारसम्म हुने छ । बिहिबार छलफल कार्यक्रममा थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारु, मिनराज चौधरी (सह–महामन्त्री), थारु कल्याणकारिणी सभा र थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर थारु सहभागि थिए । बिहिबार टीकापुर विद्रोहः अभियन्ता दृष्टिबारे वहस गरिएको थियो ।

थारु पत्रकार संघ नेपालका अध्यक्ष सन्तोष दहितले टीकापुर विद्रोहको सम्झनामा टीकापुर आन्दोलनको पृष्ठभूमी, आन्दोलनको औचित्य तथा सोबाट श्रृजित परिस्थतिका साथै राज्य पुनर्संरचनाको अपुरो यात्राका विषयमा छलफल केद्रित रहेको बताए ।

कार्यक्रममा लक्षित व्यक्ति, टीकापुर आन्दोलनसंग सम्बन्धित व्यक्ति, यीबारे जानकारी लिएका, अध्ययन गर्न चाहने व्यक्तित्व एवं अनुसन्धानकर्ता तथा सबै मिडिया मार्फत विश्वभर सुन्न र हेर्न सक्ने गरि सो कार्यक्रम गरिन लागेको छ ।

आज (शुक्रबार) टीकापुर आन्दोलनमा मिडियाको निस्पक्षता विषयमा बहस हुने जनाइएको छ । आजको बहसमा चन्द्रकिशोर (विश्लेषक, लेखक), गोविन्द आचार्य (अध्यक्ष नेपाल पत्रकार महासंघ), कृष्णराज सर्वहारी (वरिष्ठ पत्रकार, लेखक) गणेश चौधरी (कान्तिपुर संवाददाता, कैलाली) रहने छन । कार्यक्रमको सहजकर्ता ठाकुरसिंह थारु (पत्रकार) रहने छन ।

शनिबार टीकापुर आन्दोलन पछिको कार्यदिशाबारे वहस हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार