५ जेष्ठ २०८१, शनिबार

सुदूरपश्चिममा ११७ संक्रमित थपिए



धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो चौविस घण्टामा एक सय १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

बिहिबार दिउँसोसम्म सेती प्रादेशिक अस्पताल धनगढीबाट ६४ र जिल्ला अस्पताल डडेल्धुराबाट ४७ र काठमाडौंको विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । सुदूरपश्चिममा बिहिबार लामो समयपछि एकै पटक धेरै जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

सेती प्रादेशिक अस्पतालका अनुसार गौरीगंगा नगरपालिकामा २६, गोदावरी नगरपालिकामा ११, घोडाघोडी नगरपालिकामा १०, भजनी नगरपालिका ३ र भीमदत्तनगरपालिकामा १४ गरी ६४ जनामा संक्रमण पुष्टी भएको छ । १८ जना महिला र ४६ जना पुरुषमा कोरोना पुष्टी भएको सेती अस्पतालले जनाए ।

यसैगरी, डडेल्धुरा जिल्ला अस्पतालमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा ४७ जना कोरोना संक्रमित भेटिएका छन् । बिहीबार दिउँसोसम्मको तीन सय ७० जनामा कोरोना परीक्षण गर्दा ४७ जनामा कोरोना पुष्टी भएको डडेल्धुरा अस्पतालले जनाएको हो । अस्पतालका कोभिड–१९ परीक्षण प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुषालले अछामका ३०, डोटीका १६ र डडेल्धुराका एक जनामा कोरोना संक्रमण पुष्टी भएको जनाए ।

उनका अनुसार अछामको मेल्लेख गाउँपालिका अछामका १५ र साफेबगर नगरपालिकाका १५ गरी ३० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । डोटीको आदर्श गाउँपालिकाका १६ जना र डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका एक जनामा पनि संक्रमण पुष्टी भएको उनले जनाए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा काठमाडौंका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ६ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलेसात सय ५७ जना आइसोलेशनमा उपचाररत रहेको बताए । उनले २८ जना होम आइसोलेशनमा रहेको जनाए ।

बिहीबार देशभर सात सय सात जनामा संक्रमण पुष्टीको मन्त्रालयका प्रवक्ता डा. गौतमले जनाए । उनले सुदूरपश्चिमको क्वारेन्टाइनमा दुई पाँच सय ३४ रहेको र चार चार हजार तीन सय ४६ संक्रमण मुक्त भई डिस्चार्ज भएको जनाए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार