५ जेष्ठ २०८१, शनिबार

पहिराेमा १० जनाकाे मृत्यु



धनगढी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बाढी र पहिरोका कारण बुधवार १० जनाको मृत्यु भएको छ।

अछामको रामारोशन गाउँपालिकाको बस्तीमा कैलाशखोलाको बाढी पसेपछि ६ जनाको मृत्यु भएको छ ।

गएराति परेको अबिरल बर्षापछि आएको बाढिले रामारोशन गाउँपालिका वडा नम्बर ५ सैनिबजारबाट वेपत्ता भएका मध्ये ६ जनाको शव फेला परेको हो। ४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा भेटिएको स्थानिय देबेन्द्र थापाले बताए।

यस्तै दुई जनाको शव मंगलसेन नगरपालिका वडा नम्बर ३ मा पर्ने लमतणा र सेरीमा भेटिएको स्थानिय प्रकाश कुवँरले बताए। अझै १५ जना वेपत्ता रहेको प्रहरीले जनाएको छ। जिल्ला सदरमुकामबाट झण्डै ७ घण्टा पैदल हिडेर लाग्ने भएकाले उद्धारका लागि पहल भईरहेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताए।

बझाङ जिल्लामा पहिरोका कारण दुई जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ उपरिक्षक मुकेश सिंहले जानकारी दिए।

बुङगल नगरपालीका वडा नं ५ मिडीमा गयराती पहिरो गएको थियो। पहिरोमा परि चार जना घाईते भएका थिए भने २ जना बेपत्ता भएकोमा उनीहरुको शव फेला परेको प्रहरी वरिष्ठ उपरिक्षक सिंहले बताए।

१४ बर्षीय सचिन ताम्राकार र बुङ्गल नगरपालिका वडा नम्बर ४ तिर्थबगर बस्ने दमन ओखेडाका ५ बर्षका छोरा सुदिप ओखेडा बेपत्ता छन्।

उता बाजुरा जिल्लामा पनि दुई जनाको मृत्यु भएको प्रहरी वरिष्ठ उपरिक्षक सिंहले बताए। जिल्लाको खप्तड छेडेदह गाउँपालिका १ का मीन बहादुर बुढाकी ३ वर्षीय छोरी सुमीका बुढाको पहिरोमा पुरिएर मृत्यु भएको हो।

उनकी ५ बर्षिया दिदी विनीता बुढा र ६५ बर्षिया हजुरआमा नन्दादेवी बुढा पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

त्यस्तै बाजुरामै बढीगाढ र धूपे खोलामा आएको बाढीमा बगेर अर्की एक महिलाको मृत्यु भएको छ।
जिल्लाको बुढीनन्दा गाउँपालिका ६ की ७५ धिनु लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक टङ्क राज भट्टराईले जानकारी दिए।

बैतडीमा पहिरोले घर पुरिँदा ४ जना घाइते

बैतडीमा घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा ४ जना घाइते भएका छन्। जिल्लाको सुर्नया गाउँपालिका ५ मडका बीरबहादुर मडैको घरमाथि पहिरो खस्दा एकै परिवारका चार जना घाइते भएका हुन्।

आज बिहान ६ बजेतिर घरभन्दा करीब २० मिटरमाथिबाट पहिरो खस्दा बीरबहादुर मडै, उनकी श्रीमति सुन्दरी मडै, छोरीहरु सरस्वती मडै र पार्वती मडै घाइते भएको रौलेश्वर प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनसिंह धामीले बताए।

घरभित्र पुरिएका चार जनालाई उद्धार गरेर उपचारका लागि डडेल्धुरा पठाइएको उनले बताए। घाइतेहरुको टाउको,छाती लगायतका शरीरमा विभिन्न ठाउँमा चोटपटक लागेको छ। बर्षातका कारण गाडी समेत नचलेकाले घाइतेहरुलाई स्थानीयहरुले स्ट्रेचरमा बोकेर अस्पताल लगेका छन्।

घरमाथिबाट खसेको पहिरोले घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। यस्तै सोही ठाउँका दिनेश मडै र रामबहादुर मडैको घर पनि पहिरोको जोखिममा परेपछि उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ।

सुर्नया गाउँपालिका वडा नं ४ चाडी द्वालकाठाका अजी महरा र धौलसिंह महराको घर पनि पहिरोको जोखिममा परेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार