५ जेष्ठ २०८१, शनिबार

गृहमन्त्री थापाद्धारा बाढीपहिरो क्षेत्रको अनुगमनमा




बाजुरा । नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापाले बाजुराको बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमन गर्नुका साथै पीडितलाई राहत वितरण गरेका छन् ।

मंगलबार पीडितहरुलाई राहत वितरण गर्दै गृहमन्त्री थापाले जनताको साथमा सरकार रहेको बताउदैै चाडै पूर्णरुपमा विस्थापित भएका परिवारलाई पुर्नस्थापना आश्वासन दिए ।

नेपाली सेनोको हेलिकप्टरमा बाजुरा पुगेका गृहमन्त्री थापाले गौमुल गाउँपालिकाको सीममा पुगेर बाढीपहिरो पीडितहरूलाई राहत साम्रगी वितरण गरे ।

गृहमन्त्री थापा सहितको टोलीले बाजुराको बडिमालिका नगरपालिका–४ घागर, बुढीगंगा नगरपालिकाको ताँप्रिसेरा र साँफे–मार्तडी सडकको अवस्थाको अनुगमन समेत गरेको थियो ।

गृहमन्त्री थापाले साँफे–मार्तडी सडक सञ्चालन गर्नका लागि सम्वन्धित निकायलाई आवश्यक निर्देशन दिने पनि बताए । साँफे–मार्तडी सडकको ६२ ठाउँमा पहिरो गएपछि सो सडक अस्तव्यस्त भएको छ ।

गत साउन २५ गते राति बुढीगंगा नदीमा आएको बाढीपहिरोले बडिमालिका नगरपालिका, गौमुल गाउपालिका र बुढीगंगा नगरपालिकाका नदि छेउका बासिन्दाका घरहरु बगाएको थियो ।
वर्षाले गर्दा बुढीगंगा नदीमा रहेको साँफे–मार्तडी सडक अन्र्तगत पर्ने जडाङ्गाको बेलीब्रिज समेत बगाएको थियो । बेलीबिज्र बगाएपछि सदरमुकामबाट दक्षिण क्षेत्रमा रहेका तीनवटा पालिकाको सदरमुकाम मार्तडीसंगको सडक यातायात सम्पर्क पूर्णरुपमा टुटेको छ ।

बाढीले गौमुल गाँउपालिका तीन र बडीमालिका नगरपालिकामा रहेका दुईवटा झुलङ्गे पुल बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बाढीले दर्जनौ घरमा क्षति पुगाएको छ । यस्तै गरेर घागर, भौनेरा, राप्का लगायतका तटिय क्षेत्रका सबै बस्तीमा पनि क्षति पुगेको छ ।

बाजुरामा यो वर्षको एक महिनाको समयमा प्राकृतिक विपतमा परेर तीन जनाको ज्यान गएको छ । एक जना बेपत्ता भएका छन् भने ११४ परिवार विस्थापित बनेको छन् । यस्तै गरेर ३३१ परिवार उच्च जोखिममा रहेको, ५५ घर पूर्ण र ७० घर आंशिक क्षति भएको छ ।

बाढी पहिरोकै कारण बडिमालिका नगरपालिका, गौमुल गाउँपालिका, बुढीगंगा नगरपालिका सहितका क्षेत्रमा एक हजार ५९० हेक्टर खेती योग्य जमिन क्षति भएको छ । यस्तै गरेर २७ वटा साना उद्योगमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

गृहमन्त्री थापाको टोलीमा नेकपा सुदुरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापा, प्रतिनिधि सभाका सदस्य सदस्य लालबहादुर थापा, सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाह रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार