३१ बैशाख २०८१, सोमबार

कालोपत्रे भएको एक महिनामै सडकमा भ्वाङ



धनगढी । कैलालीमा निर्माण भएको सीमा सडक कालोपत्रे भएको एक महिनामै सडकमा चिरा पर्नुका साथै ठाउँठाउँमा भ्वाङ पर्न थालेको छ । कैलाली जिल्लामा निर्माणाधीन नेपाल–भारत सीमा जोड्ने सडक खण्डमा कालोपत्रे गरेको एक महिना नबित्दै ठूला–ठूला दरार फाट्न थालेको पाइएको छ ।

निर्धारित समयभन्दा निकै ढिलो गरी निर्माण भइरहेको सडक गुणस्तरहीन बनेको स्थानीयको आरोप छ ।

कैलारी गाउँपालिका वडा नम्बर ३ खोनपुरका लहानु चौधरीले निर्माण कम्पनीले आफूहरूको सल्लाहलाई बेवास्ता गरी निर्माण गरेपछि जेठमा गरिएको कालोपत्रे असारमै भत्किएको जानकारी दिए । उनका अनुसार ठेकेदारले सडकमा माटो पटान गरेको, तर सडकको ‘लेयर’ अनुसार ‘कम्पेक्सन’ नपुगेपछि एक महिनामै भत्किएको हो ।

भारतको चन्दनचौकीदेखि फूलबारी हु“दै चौमालासम्म जोड्ने ३२ किलोमिटर रहने सो सडकले पूर्वपश्चिम राजमार्गसँग जोड्ने गर्छ । १४ किलोमिटर सडक कालोपत्रेको लागि आर्थिक वर्ष २०७४/०७५ मा नागार्जुन कन्स्ट्रक्सन प्रालि काठमाडौंसँग १८ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

हाल दोस्रो पटक थपिएको म्यादमा काम गरिरहेको सो निर्माण कम्पनीले २०७७ कात्तिक २५ गतेसम्म काम सम्पन्न गर्नुपर्ने डिभिजन प्रमुख अर्जुन बमले बताए । तर सडक अन्तर्गत कैलारी गाउँपालिका वडा नम्बर ३ स्थित मोहना नदीदेखि हुलाकी राजमार्गको सुर्मीनाला पुलसम्मको करीब २ किलोमिटर कालोपत्रे सडकको ठाउँठाउँमा भाँसिएको छ ।

सुर्मी नालाको छेउ भएर निर्माण भएको सडकमा कालोपत्रेको लागि राम्रो ‘बेस’ तयार नहु“दै कालोपत्रे गरिएपछि भत्किन थालेको कैलारी गाउँपालिका वडा नम्बर ३ का मनोज चौधरीले बताए । निर्माणको क्रममा ठेकेदारले आफनो मनलाग्दी गरेको दाबी गर्दै उनले भने, – ‘ठेकेदारले यतिसम्म मनोमानी गरेको छ कि हामीले सडकको इस्टिमेट माग्दा समेत दिन मानेन । आयोजना विवरण सहितको साइन बोर्ड विना काम गरेको छ ।’

उनले थपे– सडकमा ट्राफिक चिह्नको प्रयोग पनि गरिएको छैन । आँखामा छारो हाल्ने मात्रै काम भएको छ । यससम्म कि कल्भर्ट बनाउने ठाउ“मा माटोले पुरेर समस्या सिर्जना गरेको छ । यो सडकमा अझैसम्म लोड गाडी चलेको छैन, लोड गाडी चलेपछि के हालत होला ?

डिभिजन प्रमुख बमले हालसम्म सो सडक हस्तान्तरण नभएकाले सडकमा देखिएको समस्या समाधान तथा बनाउने दायित्व निर्माण व्यवसायीको रहने बताए ।

उनले भने– ‘काम अझै जारी छ । हस्तान्तरण भएको छैन । जुन कारण भत्केको, बिग्रेको तथा बा“की रहेको कामको जिम्मा निर्माण व्यवसायीकै हुन्छ । हस्तान्तरण भएको एक वर्षसम्म पनि निर्माण पक्षकै जिम्मेवारी रहन्छ । चाँडै नै बनाउने कार्य हुन्छ ।

तराई–मधेश समृद्धि सडक पूर्वाधार कार्यक्रम अन्तर्गत कैलाली जिल्लामा सो सीमा सडक निर्माणको कार्य अगाडी बढाइएको हो ।

जिल्लाको कैलारी गाउँपालिका, धनगढी उपमहानगरपालिका र गौरीगंगगा नगरपालिकामा गरेर चार ठाउँमा चन्दन चौकी–फूलबारी–चौमाला सीमा सडक निर्माण भइरहेको छ । ३ वटै स्थानीय तहमा चार खण्ड बनाएर निर्माण कार्य भइरहेको सडक डिभिजन कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार