१७ बैशाख २०८१, सोमबार

महालेखाको प्रतिवेदन लेखा समितिमा छलफल गरिने



धनगढी / सुदूरपश्चिम प्रदेशको सभाको सार्वजनिक लेखा समितिमा महालेखा परीक्षको प्रतिवेदन २०७७ माथि छलफल हुने भएको छ ।

प्रदेश सरकारले पहिलो पटक प्रदेश सभामा महालेखा परीक्षकको प्रतिवेदन पेश गरेपछि प्रदेश सभाले सो प्रतिवेदन अध्ययन, छलफल र सुझावका लागि सार्वजनिक लेखा समितिमा पठाएको हो । प्रदेश सभाको छैठौं अधिवेशनको अन्तिम बैठकले लेखा समितिमा पठाउने निर्णय गरेको छ ।

यसअघि, महालेखा परीक्षकले प्रदेशको दुई वटा प्रतिवेदन तयारी गरी प्रदेश प्रमुख मार्फत् प्रदेश सरकारलाई दिएको भएपनि प्रदेश सभामा प्रवेश पाएको थिएन । यद्दपि, सार्वजनिक लेखा समितिकी सभापति कुमारी नन्दा बमले महालेखा परीक्षकको प्रतिवेदनलाई आधार बनाएर लेखा समितिले केही छानविनहरू गरेको बताइन् ।

महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७५÷०७६ लेखा परीक्षण गरी वार्षिक प्रतिवेदन २०७७ प्रदेश प्रमुखलाई बुझाएको थियो । लेखा समितिकी सभापति बमले उपसमिति बनाएर सो प्रतिवेदनमाथि छलफल गरिने बताइन् । उनले समितिको उपसभिति, सम्बन्धित मन्त्रालयका प्रतिनिधि र महालेखा परीक्षकको कार्यालयका प्रतिनिधि बसेर छलफल गरिने बताइन् ।

उनले सो छलफलपछि आएको निष्कर्षको आधारमा समितिले निर्णय गरेर मन्त्रालयहरूलाई वेरुजु फस्र्यौट गर्न निर्देशन दिने बताइन् । केही असुल उपर गर्नुपर्ने, केही नियमित गर्नु पर्ने र केही पेश्की देखिएकोले सो विषयमा समितिले मन्त्रालयहरूलाई गर्न लगाउने बताइन् ।

सभाले लेखा समितिमा पठाउने निर्णय गरेपनि समितिमा सो प्रतिवेदन आइनपुगेको सभापति बमले बताइन् । उनले समितिको सचिवालयमा प्रतिवेदन आउने वित्तिकै छलफलको प्रक्रिया अगाडि बढाइने बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार