१० श्रावण २०८१, बिहीबार

‘बनेनन् राउटेका घर’ सामुदायिक वनले काठ दिदैन



निर्माण पुरा नभएर अलपत्र परेका राउटे समुदायका घर

डडेल्धुरा । नेपाल सरकारले लोपोन्मुख जाति राउटेहरुको घर निर्माणको कामसुरु गरेको एक दशक बितिसक्दासम्म पनि घर निर्माण कार्य अधुरै रहेको भेटिएको छ ।

एकवर्ष भित्र घर निर्माण गर्ने योजनाका साथ २०६८ सालमा कार्यक्रम सञ्चालन गरिएको भएपनि घर निर्माणका लागि आवश्यक काठ तथा बजेट अभाव हुदा राउटे समुदाय समस्यामा परेका छन् ।

नेपाल सरकार भौतिक योजना तथा निर्माण मन्त्रालय अन्र्तगत शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय डोटीले जनता आवास कार्यक्रम अन्र्तगत २०६८ सालमा कार्यक्रम सञ्चालन गरेको हो । डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका –४ रज्यौडामा बसोबास गर्दै आएका राउटेहरुका घर निर्माण कार्य पुरा नहुदा निकै समस्या झेल्नु परिरहेको रज्यौडाका स्थानिय पार्वती राउटेले बताइन ।

आफूहरु झुप्रोमा बस्दै आएकाले गर्मीको मौसममा हुरी बतासको डर हुने गरेको जानकी राउटेले दुखेसो गरे । जानकी भन्छिन, ‘काठ किन्न पैसा छैन, काठ नभएर घर निर्माण कार्य अलपत्र परेको छ ।’

काठ अभावका कारण आफूहरुले समयमै घर निर्माण गर्न नसकेको परशुराम नगरपालिका–४ रज्यौडाका मानबहादुर राउटेले बताए ।
सरकारले पक्कीघर निर्माण गरिदिने भनेपछि आफूहरु खुसी भएको भएपनि एक दशक बिति सक्दासम्म पनि घर निर्माण अधुरै रहेपछि पुरानै झुपडीहरुमा बस्नुपर्ने बाध्यता रहेको उनले बताए ।

राउटेहरुलाई दिगो रुपमा बसोबास गराउने उद्देश्यले पक्की घर बनाउने परियोजना तीन वर्षसम्म पनि पुरा गर्न नसक्नु सरकारको कमजोरी रहेको स्थानीय गणेश राउटेले बताए ।

उहाँ भन्नुहुन्छ, ‘पक्की घर बनाउने योजनाले राउटेहरुलाई खेलौनाको रुपमा लिएको छ ।’ आफूहरुलाई आवश्यक काठ उपलब्ध गराइदिए घर निर्माणमा जुट्ने राउटेहरुको भनाई रहेको छ ।

स्थानीय सामुदायिक वनमा राउटेहरुले घर निर्माणका लागि काठ काट्दा सरकारले मुद्धा लगाएको तर अहिले आउदा काठ राउटे समुदायलाई नदिई उल्टै काष्ठ व्यवसायीहरुले टेण्डर मार्फत लिइरहेकोप्रति राउटे समुदायले असन्तुष्टि जाहेर गरेको छ ।

‘न त सरकारले घर निर्माण नै गरिदियो, न त काठ उपलब्ध भयो’ स्थानीय शान्तिदेवी राउटेले दुःख पोख्दै भने । गरीब र लोपोन्मुख जाति नै भएकाले सरकारले पनि लापरवाही गरेको उनले बताए ।

आफ्ना घर नजिकैको सामुदायिक वनबाट काष्ठ व्यवसायीहरुले धमाधम काठ लैजादै गर्दा आफ्ना घरहरु काठको अभावमा पूर्णता पाउन नसकेकोले राउटे परिवार समस्यामा परेका छन् ।

आफूहरुले ईलाका वन कार्यालय हुदै डिभिजन वन कार्यालयसम्म घर निर्माणका लागि आवश्यक काठको माग गरेका भएपनि वन कार्यालयले कुनै सुनुवाई नगरेको उनीहरुको भनाइ छ ।

मुद्धा लागेका वनहरुबाट काठ काट्न नपाउने भन्दै वन अधिकृतहरुले घर निर्माणका लागि काठ उपलब्ध नगराएको उदय राउटेले बताए ।
सो विषयमा जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले क्रमागत बजेट विनियोजन नहुँदा राउटेका घर निर्माणमा असहज भएको बताए ।

आफू भर्खरै मात्र डडेल्धुरा आइपुगेको बताउदै प्रजिअ बास्तोलाले शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयसंग जनता आवास कार्यक्रम बारेमा कुराकानी बुझेर राउटेहरुका घर निर्माण कार्यलाई पूर्णता दिनमा पहल गर्ने बताए ।

राउटे समुदायलाई काठ उपलब्ध नहुदा दश वर्षसम्म घर अधुरै रहेका छन । ५० प्रतिशत निर्माण कार्य भएका घरहरु जिर्ण भएका छन भने कतिपय घरहरुको निसानी नै छैन आजको गोरखापत्रमा समाचार छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्
विशेष समाचार