३ जेष्ठ २०८१, बिहीबार

मुख्यमन्त्रीको दाबी– प्रदेश सरकार कोरोना रोकथाममा सफल



धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले प्रदेशमा कोरोना संक्रमण भयावह हुनबाट रोक्न सफल भएको दावी गरेका छन् ।

प्रदेश सभाको मंगलबारको बैठकमा मुख्यमन्त्री भट्टले प्रदेश सरकारले कोरोना संक्रमण समुदायमा फैलिनबाट रोक्न सफल भएको दाबी गरे ।

उनले फागुन अन्तिम सातादेखि हालसम्म दुई लाख ७० हजार जना नेपालीहरू सुदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर भारतबाट फर्केको बताए । “यति धेरै मानिसहरू एकै पटक आउदा समेत हामीले व्यवस्थापन गर्न सक्यौं’ मुख्यमन्त्री भट्टले भने– हामीले समुदायमा कोरोना फैलिनबाट रोक्न सफल भएका छौं । यो मानेमा प्रदेश सरकार सफल भएको छ ।

उनले एकै पटक धेरै मानिसलाई क्वारेन्टाइनमा व्यवस्थापन गर्न निकै कठिन भएकाले स्थानीय तह र विभिन्न सहयोगीहरूको सहयोगले कोरोना परीक्षणपछि मात्रै उनीहरूलाई घर फर्काउने वातावरण बनाएर कोरोना संक्रमण रोक्न सफल भएको बताए । उनले अझै पनि कोरोना संक्रमण भेटिने क्रम बढ्दो रहेको हुनाले प्रदेश सरकारले कोरोना संक्रमण मुक्त भएको एकीन भएपछि मात्रै घर फर्किन पाउने गरी व्यवस्थापनमा लागेको बताए ।

मुख्यमन्त्रीले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि हालसम्म प्रदेश सरकारले ५३ करोड रुपैया खर्च गरेको जानकारी दिए । “संघीय सरकारले दिएको ६ करोड रुपैया बाहेक बाहेक ५० देखि ५३ करोडसम्म खर्च भएको छ’ मुख्यमन्त्री भट्टले भने– प्रतिपक्ष दलहरुले आरोप लगाए जस्तो ९३ करोड रुपैया खर्च भएको छैन । यसमा भ्रष्टाचार भएको आशंका छ भने संसद्ले छानविन गर्न सक्छ ।

उनले राहत वितरण, आइसोलेशन निर्माण र क्वारेन्टाइन व्यवस्थापनका लागि स्थानीय तहलाई २४ करोड अनुदान दिएको बताए । कोरोना रोकथाम तथा नित्रयन्त्रणका लागि खटिने सुरक्षाकर्मीहरूको लागि सुरक्षा निकायलाई एक करोड नौ लाख दिएको बताए । प्रदेशको सामाजिक विकास मन्त्रालय मार्फत् ३० देखि ३३ करोड रुपैया खर्च भएको मुख्यमन्त्री भट्टले बताए ।

उनले सामाजिक विकास मन्त्रालयले कम जनशक्तिमा सञ्चालन गर्न सकिने तीन वटा अटो आरटि–पिसिआर मेसिन र ३० वटा भेन्टिलेटर खरिद गरेको बताए । १०/१५ दिनमै तीन वटै अटो आरटि–पिसिआर मेसिन सञ्चालन भइसक्ने मुख्यमन्त्री भट्टले बताए ।

उनले खरिद गरेको भेन्टिलेटर प्रदेशमा छिट्टै आउने र नौं वटै जिल्ला अस्पतालहरूमा २/२ वटाका दरले जडान गरिने बताए । उनले बाँकी भेन्टिलेटरहरू प्रदेशका अस्पतालमा जडान गरिने बताए । प्रदेशमा छिट्टै पाँच वटा अटो आरटि–पिसिआर मेसिन सञ्चालनमा आउने बताउँदै उनले सो सञ्चालनसंगै दैनिक तीन हजार जनाको कोरोना परीक्षण हुने बताए । उनले सेती प्रादेशिक अस्पतालमा मंगलबारदेखि नै अटो आरटि–पिसिआर मेसिन सञ्चालनमा आएको र त्यसको उद्घाटन आफूले गरेको संसद्लाई जानकारी गराए ।

मुख्यमन्त्री भट्टले प्रतिपक्षी दलहरूले भने जस्तै ९३ करोड रुपैयाँ कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्च नभएको बताए । प्रतिपक्षी दलहरूले ९३ करोड रुपैयाँ खर्च गरेको भन्दै सोको हिसाव माग गरी गत असारमा पटक पटक संसद् अवरुद्ध गरेका थिए ।

‘प्रदेश सरकारले ५० देखि ५३ करोड रुपैयाँ मात्रै खर्च गरेको छ,’ मुख्यमन्त्री भट्टले भने, ‘बाँकी खर्च नभएको पैसाको हिसाव कसरी दिनु । प्रतिपक्षीले जनतालाई भ्रममा पारेको छ । सा“चो कुरा बोल्नुपर्छ । भ्रमित गर्ने कुरा कसैले पनि बोल्नु हुँदैन ।’

उनका अनुसार ४० करोड रुपैयाको प्रदेश सरकारले कोष स्थापना गरेको थियो । विभिन्न सहयोगी, सांसद् र मन्त्री तथा कर्मचारीहरूले सो कोषमा करिब तीन करोड रुपैया जम्मा गरेका थिए ।

मुख्यमन्त्री भट्टले अघिल्लो आर्थिक वर्षमा सोही रकम खर्च भएको र हालसम्म बढिमा ५३ करोड रुपैयाँ खर्च भएको बताए । उनले संघीय सरकारले छ करोड रुपैयाँ स्थानीय तहहरूलाई पठाउनका लागि दिएको हुनाले सोको हिसाब प्रदेशको खर्चमा नराखेको बताए । उनले प्रतिपक्षले भनेको संघीय सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारलाई २० औं करोड रुपैया दिएको कुरा पनि सत्य नरहेको स्पष्ट पारे ।

मुख्यमन्त्री भट्टले लकडाउनको शुरुको केही महिना क्वारेन्टाइनमा एक लाख भन्दा बढि मानिसहरूलाई राख्नु परेकोले एक छाक खाना खुवाउन २/३ करोड रुपैया खर्च भएको बताए । उनले सामाजिक विकास मन्त्रीले पटक पटक खर्चको विस्तृत जानकारी संसद्मा दिंदादिंदै पनि बजेटमाथि छलफल गर्ने बेला प्रतिपक्षले संसद् अवरुद्ध गरेको बताए ।

प्रतिपक्षीहरूले आफ्नो ईच्छा आकांक्षा पुरा नभएपछि संसद् अवरुद्ध गरेर बजेटमाथि छलफल गर्ने जनताको अधिकारमा घात गरेको उनले बताए । उनले जनतालाई भ्रममा राखेर प्रतिपक्षले राजनीति गर्न खोजेको भन्दै दुःख व्यक्त गरे ।

‘यही प्रवृत्तिका कारण अझैसम्म सुदूरपश्चिमको विकास हुन सकेन,’ मुख्यमन्त्री भट्टले भने, ‘यस्तै प्रवृत्तिका कारण हामीले (प्रतिपक्षीले) जनतालाई पटक पटक ठग्दै आएका छौं । यस्तो गर्नु हुँदैन । साँचो बोल्नु पर्छ ।’

गतवर्ष ७१ प्रतिशत पुँजिगत खर्च

मुख्यमन्त्री भट्टले गत आर्थिक वर्ष २०७६/०७७ मा असहज परिस्थितिको बावजुद प्रदेश सरकार ७१ प्रतिशत पुजिगत खर्च गर्न सफल भएको बताए । उनले ५५ प्रतिशत मात्रै चालु खर्च गरेको बताउदै समग्रमा ६२ दशमलव २२ प्रतिशत बजेट खर्च गरेको बताए ।

१–२ वर्षमा विकासमा चमत्कार नहुने बताउदै मुख्यमन्त्री भट्टले विकास प्रक्रियागत रुपमा गर्नुपर्ने भएकाले समय लाग्ने गरेको बताए । उनले छुमन्तर गरेर विकास खोज्ने प्रतिपक्षले वर्षाैं वर्षसम्म सरकारमा रहदा गर्न नसकेको कामहरू प्रदेश सरकारले गरिरहेको बताए । उनले प्रत्येक वर्ष डुवान हुने क्षेत्रलाई व्यवस्थित गर्न प्रदेश सरकारले योजना बनाइरहेको बताए । पहिरो जाने पहाडी क्षेत्रमा सडक व्यवस्थापनका लागि समेत प्रदेश सरकारले अध्ययन गरेर योजना ल्याउन खोजिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार